खेल

करातेका खेलाडी छनोट

काठमाडौं – नेपाल कराते महासंघले १३औं सागका लागि टिम कुमुतेतर्फ पहिलो चरणको खेलाडी छनोट बिहीबार सम्पन्न गरेको छ। सातदोबाटोस्थित कराते कभर्डहलमा भएको पहिलो चरणमा २४ पुरुष र १० महिला खेलाडी छनोट भएका हुन्।

पुरुषतर्फ बिनोस शाक्य, लेखनाथ मैनाली, सुमन श्रेष्ठ, मुकुन्द महर्जन, विनोद महर्जन, राजेन्द्र कार्की, राम लिम्बु, आशिष थापा, दिगम्बर पन्त, विजय लामा, विप्लव श्रेष्ठ, शेखर श्रेष्ठ, सुशील पौड्याल र वीरबहादुर रनेनी छन्। यस्तै महिलातर्फ विभुषा थापा, अमृता शाक्य, सुनीता महर्जन, कृपा शेर्पा, सुस्मिता वाईवा, रोजिता ढुंगेल, विनीता श्रेष्ठ, पूजा पुलामी मगर, जिन सुब्बा र सरिता श्रेष्ठ छनोट हुन सफल भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी गराए।

पुराना तथा साग पदकधारी खेलाडी अमृता शाक्य, विनोद शाक्य, विनोद महर्जन र राम लिम्बुले टिममा पुनः पुनरागमन गरेका छन्। रातेको टिम कुमुतेमा पुरुषतर्फ ७ र महिलातर्फ ५ खेलाडीको सहभागिता रहनेछ। पहिलो चरणमा पुरुषतर्फ ३५ खेलाडीमा २९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ६ खेलाडी तौल नमिलेका कारण प्रतिस्पर्धा गर्नबाट वञ्चित भए। यस्तै महिलातर्फ १० खेलाडी छनोट गर्नुपर्नेमा १२ खेलाडीमा २ खेलाडी तौलका कारण प्रतिस्पर्धाबाट बाहिरेपश्चात् १० खेलाडी मात्र रहेकाले पहिलो चरणको लागि स्वतः छनोट हुन सफल भएको रेफ्री संयोजक कपालीले जानकारी गराए।
 

प्रकाशित: १७ श्रावण २०७६ ०२:०७ शुक्रबार

कराते