खेल

प्रचार प्रमुखमा दुलाल

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत प्रचारप्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ। २०७६ साल साउन १४ गतेको सदस्यसचिवस्तरीय निर्णयअनुसार दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो।

राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार पत्र हस्तान्तरण गरे। प्रमुख थापाले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रमुखमा नियुक्त भएकोमा बधाई दिए। उनले कुनै बेला प्रचारप्रसार शाखालाई महŒवपूर्ण शाखाका रूपमा हेरिने गरेको बताउँदै अहिले विगतको तुलनामा प्रचारप्रसार शाखाको साख घटेको आफूले महसुस गरेको बताए। उनले प्रचारप्रसार शाखाको गुमेको साखलाई पुनः फर्काउन सफलता मिलोस् भनी शुभकामना दिए।

यसअघिका प्रमुख सुधीरप्रसाद पोखरेलले ५८ वर्ष उमेर हदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि प्रचारप्रसार शाखामा प्रमुखको पद रिक्त थियो। नवनियुक्त प्रमुख दुलालसँग प्रचारप्रसारमै रहेर १६ वर्ष काम गरेको अनुभव छ। त्यसअघि उनले गुल्मी जिल्ला खेलकुद विकास समितिमा ३ वर्ष तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र मोरङ जिल्ला खेलकुद विकास समितिमा ५ वर्ष काम गरेको अनुभव छ।

प्रमुखसंगै ५१ वर्षीय दुलालले सूचना अधिकारीको जिम्मेवारी पनि पाएका छन्। २०५३ साल असोज ४ गते राखेपमा स्थायी सेवामा प्रवेश गरेका प्रमुख दुलालले सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा प्रचारप्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेत, नायब सुब्बा बासुदेव निरौलालगायतको उपस्थिति थियो।
 

 

प्रकाशित: १६ श्रावण २०७६ ०२:१३ बिहीबार

राष्ट्रिय_खेलकुद_परिषद् दुर्गाप्रसाद_दुलाल