खेल

नेपालको होम गेम कुवेतमा

बैठकमा सहभागी एन्फाका पदाधिकारी। तस्बिरः नागरिक

काठमाडौं– फिफा विश्वकपका लागि एसिया क्षेत्रको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग तय भएको होम गेम पनि कुवेतको मैदानमा खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको आपतकालीन समितीको बैठकले ११ निर्णय गर्दा कुवेतसँग हुने होम गेम उसैको मैदानमा खेल्ने निर्णय गरेको विज्ञप्तीमा जनाएको छ। अन्तर्राष्ट्रिय मापदण्ड रहेको नेपालको एकमात्र दशरथ रंगशाला महाभुकम्पका कारण भत्किएको र त्यसको पुनःनिर्माण भइरहेकाले तोकिएको समयमा खेल हुन नसक्ने अवस्था जनाउँदै एन्फाले नेपालको होम गेम पनि कुवेतमा नै हुने जनाएको हो। यो निर्णय एन्फाले एएफसीसँग छलफल गरेर निर्णय गरेको मंगलबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ।

छनोट अन्र्गत समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेल ५ सेम्टेम्बरमा कुवेतसँग कुवेतको मैदानमा खेल्नेछ। यस्तै नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल्दा  चाईनिज ताईपेइ र जोर्डनसँग भने होम एण्ड अवे खेल सट्टापट्टा गरेर खेल्ने एन्फाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ। अब नेपालले चाईनिज ताईपेइ र जोर्डनसँग पहिले उसैको मैदानमा अवे खेल खेल्नेछ। नेपालले सेप्टेम्बर १० मा चाईनिज ताईपे र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो।

चाईनिज ताईपेइसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ। त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ। यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा आतिथ्य गर्नेछ।

यस्तै मंगलबारै बसेको बैठकले विभिन्न रिक्तपदमा पनि पदाधिकार नियुक्त गर्ने निर्णय गरेको छ। एन्फाले टेक्निकल डाइरेक्टरको रुपमा अस्ट्रेलियन नागरिक गेरी फिलिप्स, हेड अफ कोचेज एजुकेशनमा संजित सिंह, हेड अफ ईलिट एन्ड युथ पदमा नबिन महर्जन र हेड अफ वुमेन्स पदमा राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै फिफा ग्रासरुटका लागि ४५ जिल्ला फुटबल संघहरुलाई अनुदान रकम प्रदान गर्ने निर्णय पनि गरेको छ। यसैगरी विश्वकपको र एएफसीका लागि राष्ट्रिय टिमको प्रशिक्षण शुरु गर्ने जनाएको छ।

राष्ट्रिय टोलीका ट्रेनर विवेक विक्रान्तलाई टोलीबाट हटाएको छ। राष्ट्रिय टोलीका मुख्य गोलकिपर किरण चेम्जोङसँगको विवाद गठित  छानविन समितीले पेश गरेको प्रतिवेदन अनुसार विवेकलाई हटाएको जनाएको हो भने किरणलाई सचेत गराउने निर्णय गरेको छ।

यस्तै भक्तपुर जिल्लमा रहेको विवादलाई अध्ययन गरि एन्फाका कार्यकारी सदस्य मधुसुधन उपाध्यायको संयोजकत्वमा ३ सदस्यीय छानविन समिती गठन गरेको छ। सो समितिलाई ५ दिन भित्र प्रतिवेदन बुझाउन म्याद दिएको छ।

प्रकाशित: १५ श्रावण २०७६ ०२:२९ बुधबार

कुवेत होम_गेम