खेल

बेर्नललाई टुर दी फ्रान्स उपाधि

पेरिस – इगन बेर्नल प्रतिष्ठित साइकल -याली टुर दी फ्रान्स जित्ने पहिलो कोलम्बियाली खेलाडी बनेका छन्। आइतबार अन्तिम तथा २१औं चरणको साइकल ¥याली अस्ट्रेलियाका कालेब इवानले जिते पनि समग्रमा बेर्नल च्याम्पियन भए।

२२ वर्षे बेर्नल ११६ वर्षे इतिहासमा यो उपाधि जित्ने सबैभन्दा कान्छा राइडरसमेत भए। टिम इनियोसका सदस्यसमेत रहेका बेर्नल ८२ घण्टा ५७ मिनेटमा दूरी पूरा गर्दै पहिलो भएका थिए। उनले आफ्नै टिमका सदस्यसमेत रहेका डिफेन्डिङ च्याम्पियन ब्रिटेनका गेराइन्ट थोमसलाई एक मिनेट ११ सेकेन्डले पछि पारेका थिए।
नेदरल्यान्डका स्टेभन क्रुइजस्विक तेस्रो स्थानमा रहँदा १ मिनेट ३१ सेकेन्डले पछाडि परेका थिए। ‘खेल निकै रोमाञ्चक रह्यो। कसरी टुर दी फ्रान्सको उपाधि जितें भन्ने भन्नै सकिरहेको छैन। कसरी विश्वास गर्ने अहिले पनि लागिरहेको छ। मलाई यो उपाधि जितेको विश्वास लाग्न अभैm केही दिन लाग्न सक्छ,’ बेर्नलले भने। उनले यो उपाधि आफ्नो परिवारप्रति समर्पित गर्न चाहेको उल्लेख गरेका छन्।

‘यो उपाधिसहित परिवारको अंकमाल गर्न चाहन्छु। म उहाँहरू यस प्रतियोगिताका बारेमा कसरी भन्यौ भन्ने सोच्नै सकिरहेको छैन।’ उनले कोलम्बियालाई पहिलो पटक टुर दी फ्रान्सको उपाधि दिलाएका हुन्। ‘कोलम्बियामा यसअघि पनि महान् साइक्लिस्ट थिए। उनीहरूले धेरै पटक  यसका लागि प्रयास गरे। तर, उनीहरूका लागि यो उपाधि जित्ने सकेकोमा एकदम खुसी छु।’ बर्नेल एउटै चरण पनि नजिते पनि समग्रमा च्याम्पियन भएका हुन्।

कुल २१ चरण रहेको यस प्रतियोगिताको १९औं चरण भने ठूलो वर्षा र पहिरोका कारण हुन सकेको थिएन। नेदरल्यान्डका स्टेभनको टोली जुम्बो भिस्माले टिम टाइम ट्रायलसँगै चार चरणमा पहिलो भएको थियो। उक्त टोलीमा ड्यालन ग्रोइननेवेगन, वाउट भान र माइक टिउनिसेन थिए। ब्रिटन एडम एटले आफ्नो प्रभाव बनाउन नसके पनि उनको टोली मिचेल्टन स्कटले पनि चार चरण आफ्नो पक्षमा पारेको थियो।

तर, ब्रिटनका जुम्लाह भाइ सिमोन एटले भने दुई चरणको सफलता चुमेका थिए। त्यसमा सोही टोलीका माटियो ट्रेन्टिन र डेरी इम्पेले समान एक चरण आफ्नो बनाए। फ्रान्सका युलियन एलाफिलिपेको टोली समग्रमा भने पाँचौं स्थानमा खुम्चियो। यस पटक चार पटकका च्याम्पियन क्रिस फ्रुमको अनुपस्थितिका कारण पनि कयौं राइडर्स उपाधि जित्ने दाउमा थिए।

बेल्जियमको ब्रसेल्सबाट सुरु भएको टुर दी फ्रान्सको फ्रान्सका विभिन्न क्षेत्र हुँदै कुल २ हजार ९१ माइल (३ हजार ३ ६५ किलोमिटर) को यात्रा तय भएपछि पेरिसमा टुङ्गिएको थियो। यस प्रतियोगितामा समथर भूभाग, पहाडी क्षेत्र, हिमाली क्षेत्र, व्यक्तिगत टाइम ट्रायल र इन्टर मिडियट प्रिन्टमा भएका थिए।

 

प्रकाशित: १४ श्रावण २०७६ ०१:५८ मंगलबार

इगन_बेर्नल टुर_दी_फ्रान्स