खेल

‘टेस्टमा एकदिवसीय मानसिकताको कुनै अर्थ छैन’

लन्डन – अस्ट्रेलियाका तीव्र गतिका बलर जस हाज्लेउडले इङ्ल्यान्डका ओपनर जसन रोयले एकदिवसीय खेलमा देखाएको मानसिकताको टेस्ट क्रिकेटमा कुनै अर्थ नहुने बताएका छन्।

इङल्यान्डले हालै मात्र घरेलु मैदानमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्दा रोयले उत्कृष्ट प्रदर्शन गर्दै आक्रामक ब्याटिङ गरेका थिए। तर पहिलो पटक टेस्ट टोलीमा समावेश गरिएका रोयले टेस्ट क्रिकेटमा सो लयलाई निरन्तरता दिन्छन् वा दिँदैनन् हेर्न बाँकी छ।

इङ्ल्यान्डका लागि ८४ एकदिवसीय खेल खेलिसकेका रोयले गत साता पहिलो पटक आयरल्यान्डविरुद्धको टेस्ट टोलीमा छनोट हुन सफल भएका थिए। आायरल्यान्डविरुद्ध पहिलो इनिङमा मात्र ५ रन जोडेका रोयले दोस्रो इनिङमा भने ७२ रनको योगदान गरेका थिए।

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको एसेस शृंखलाअन्तर्गत पहिलो टेस्ट बिहीबारबाट इड्गावस्टनमा सुरु हुनेछ। हाज्लेउडले अस्ट्रेलियाली कप्तान तथा ओपनर एरोन फिन्चको अनुभवबाट केही सिक्नसमेत रोयलाई सुझाएका छन्। सीमित ओभरको खेलमा सफल फिन्चले टेस्टको १० इनिङमा मात्र २ सय ७८ रन जोडेपछि टेस्ट टोलीबाट हटाइएको थियो।

‘रोयले टेस्टमा कस्तो प्रदर्शन गर्छन् हेर्न बाँकी नै छ। उनले एक मात्र टेस्ट खेलेका छन्। त्यसैले एकदिवसीय खेलमा र टेस्टमा ओपनरको भूमिका निर्वाह गर्नु फरक हो,’ हाज्लेउडले भने, ‘इङ्ल्यान्डमा ओपनरको स्थान बनाउन कठिन छ। पूर्वकप्तान तथा ओपनर  एलेस्टठर कुक धैर्यताका कारण नै कीर्तिमानी ब्याट्सम्यान बने। सधंै आक्रामक क्रिकेट खेल्न कठिन छ। एरोन फिन्चले गत वर्ष भारतविरुद्ध सोचेअनुरूपको प्रदर्शन गर्न सकेनन्। उनलाई पनि टेस्ट क्रिकेटमा घुलमिल हुन समय लागेको थियो।’

 

प्रकाशित: १४ श्रावण २०७६ ०१:५४ मंगलबार

तीव्र_गति टेस्ट एकदिवसीय मानसिकता