खेल

‘पोग्बाबारेको हल्ला कपोलकल्पित’

साङ्घाई – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले मिडफिल्डर पाउल पोग्बाबारे फिँजाइएको हल्ला कपोलकल्पित भएको बताएका छन्। फ्रेन्च मिडफिल्डर पोग्बाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड यसअघि नै छोड्ने इच्छा व्यक्त गरेका थिए। पोग्बाको बहिर्गमनको इच्छासँगै स्पेनिस क्लब रियाल मड्रिड र इटालियन क्लब युभेन्ट्सले भित्र्याउने चाहना देखाएका छन्।

सोल्सजायरले विश्वकप जिताउनका लागि महत्वपूर्ण भूमिका खेलेका पोग्बा क्लबमा रहिरहनुपर्ने चाहना देखाएका छन्। उनी क्लब बसाइलाई निरन्तरता दिँदै च्याम्पियन्स लिगका लागि स्थान बनाउन चाहन्छन्। २६ वर्षीय पोग्बाले सार्वजनिक रूपमा नै सिजनको अन्त्यसँगै क्लब छोड्ने बताउँदै आएका छन्। पोग्बाको उक्त अभिव्यक्तिसँगै युनाइटेडका समर्थक केही निराश बनेका छन्। लिगको अन्तिम खेलमा युनाइटेडले कार्डिफलाई २–० ले पराजित गर्दै लिगको समापन गरेको थियो। जसमा पोग्बाले गोल गर्दै युनाइटेडलाई सुखद नतिजा दिलाएका थिए।

सिजन सुरु हुनुपूर्व पोग्बा क्लबमा रहिरहे क्लबले राम्रो गर्ने विश्वास व्यक्त गरे। ‘समर्थकलाई पाउल पोग्बा कस्ता खेलाडी हुन् भन्ने थाहा छ। क्लबलाई दिएको समय र क्लबप्रति उनले गरेको प्रदर्शनबारे समर्थक सबै जानकार छन्,’ प्रशिक्षक सोल्सजायरले भने, ‘पोग्बासँग केही तीता अनुभव भए पनि उनी क्लबका राम्रा खेलाडी हुन्। टोलीका लागि राम्रो खेल खेल्ने खेलाडी हुन्।’ ‘म र खेलाडीका लागि परीक्षा हुन सक्छ। पोग्बासँग मेरो केही समस्या छैन। उनको खेलप्रति सबै विश्वस्त छौं। उनी राम्रा खेलाडी हुन्,’ टोटेनह्यामसँगको मैत्रीपूर्ण खेलअघि सोल्सजायरले भने।

प्रशिक्षक सोल्सजायरले क्लबले नयाँ सिजनका लागि नयाँ खेलाडी भित्र्याउनका लागि देखाएको उदासीनताप्रति दुखी रहेको प्रतिक्रिया दिए। युनाइटेडले विंगर ड्यानियल हामेस र फुल ब्याक आरोन वानविसाकालाई क्लबमा अनुबन्धित गरेको छ। तर क्लबले लेस्टर सिटीका रक्षक ह्यारी माग्युरी र पोर्चुगलका प्लेमेकर बु्रनो फर्नान्डेजलाई  क्लबमा भित्र्याउन गृहकार्य गरिरहेको छ। ‘हामेस र वानविसाकालाई भित्र्याउन खोजेकोमा म खुसी छु। हामीले धैर्य गर्नुपर्छ,’ ४६ वर्षीय पूर्वखेलाडी सोल्सजायरले थपे, ‘टोली राम्रो बन्नेमा आशावादी छु। राम्रो खेलाडी क्लबमा अनुबन्धित होस् भन्ने इच्छा हो। टोलीको राम्रो संयोजन भएमा नयाँ सिजनमा राम्रो नतिजा आउनेमा म विश्वस्त छु।’

यस्तै क्लबका अर्का भरपर्दा खेलाडी रोमेलु लुकाकु पनि क्लब छाड्ने मस्थितिमा छन्। लुकाकुले इन्टर मिलानमा अनुबन्धित हुने इच्छा देखाएका छन्। बिहीबार हुने मैत्रीपूर्ण खेलमा बेल्जियमका फरवार्ड लुकाकु मैदान उत्रिने छैनन्। चोटबाट ग्रसित लुकाकुबिना पनि क्लब मैत्रीपूर्ण खेलका लागि उत्साहित रहेको क्लबले जनाएको छ। ‘पोग्बासँग केही तीता अनुभव भए पनि उनी क्लबका राम्रा खेलाडी हुन्। टोलीका लागि राम्रो खेल खेल्ने खेलाडी हुन्।’

 

प्रकाशित: ९ श्रावण २०७६ ०२:३५ बिहीबार

युनाइटेड पोग्बाबा कपोलकल्पित