खेल

शारीरिक सुगठन टोली चीन जाने

काठमाडौं– नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ।

जुलाई २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको क्लासिक बडि बिल्डिङको १६३ सेन्टीमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने छन्। उनीहरुलाई बडी बिल्डिङका प्रमुख प्रशिक्षक राजेन्द्र तुलाधरले प्रशिक्षण गराएको संघले जनाएको छ।

अफिसियलमा संघका महासचिव अजय वज्राचार्य तथा पूर्व अध्यक्ष शिवलाल श्रेष्ठ रहेका छन्। दुवैले प्रतियोगिता दौरान हुने कंग्रेसमा पनि सहभागी हुने बताइएको छ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच सोमबार बिदाइ गरे।

कार्यक्रममा सदस्य–सचिव सिलवालले अस्तित्वमा रहेका दुई शारीरिक सुगठनलाई एक भएर आउन आग्रह गर्दै विभाजनले कसैलाई फाइदा नपुर्याउने बताए।

प्रकाशित: ६ श्रावण २०७६ १२:०७ सोमबार

शारीरिक_सुगठन चीन खेलाडी राष्ट्रिय_खेलकुद_परिषद्