खेल

सुप्रिमालाई अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक विजेता नेपाली टोली। तस्बिर सौजन्यः कुमार लामा घिसिङ

काठमाडौं – नेपालकी सुप्रिमा बजगाइँले मलेसियामा सम्पन्न सरावक चिफ  मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

मलेसियाको सरावाक कुचिङस्थित कुचिङ स्टेडियममा आइतबार सम्पन्न च्याम्पियनसिपमा सुप्रिमाले स्वर्ण पदक जितेसँगै नेपालले कुल एक स्वर्ण, एक रजत र ६ कांस्य पदक प्राप्त ग-यो। सुप्रिमाले फाइटतर्फ महिला ३७ केजी तौलसमूहमा नेपाललाई स्वर्ण दिलाएको नेपाली टोलीका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए।

सुप्रिमाले फाइनलमा थाइल्यान्डकी स्वान्चुलाई २३–३ ले स्तब्ध बनाउँदै स्वर्ण पदक आफ्नो बताएकी थिइन्। नेपालले दुई रजत पदक जित्दा फाइटतर्फ महिला खेलाडीले एक दिलाएकी थिइन्। क्याडेटमै ४७ केजीमुनि पूजा कुँवरले रजत पदक जितेकी थिइन्। उनी फाइनलमा मलेसियाकी वान सुईसँग ३१–११ ले पराजित भएपछि स्वर्ण जित्ने सपना अधुरो बन्यो। जुनियरको फाइटमा अमर भुजेलले ७३ केजीमुनि रजत जितेका थिए।

उनी फाइनलमा ताइपेईका रिसानुनसँग १५–६ ले पराजित भएका थिए। नेपालकै विमला लामा फाइटकै ६२ केजीमुनि सेमिफाइनलमा स्तब्ध भएपछि कांस्यमै खुम्चिइन्। महिलाकै फाइटमा आस्था दाहाल ५२ केजीमुनि सिंगापुरकी हाजिमालीसँग १७–४ ले र अलिसा सुनुवार ३७ केजीमुनिमा मलेसियाकी तान युयानसँग १७–८ ले स्तब्ध भएपछि कांस्य पदकमै सीमित भए।

पुरुषतर्फ फाइटमा अभिषेक कटुवाल क्षेत्री, कृतिक भण्डारी र कृस थापा कांस्य पदक जित्न सफल भए। सेमिफाइनलमा ४५ केजीमुनिमा अभिषेक म्यानमारका रौलडांगिनसँग २३–६ ले, ३६ केजीमुनिमा कृतिक ताइपेईका माग्रेटसँग २५–४ ले पराजित हुँदा ३३ केजीमुनि ताइवानका अल्भिन पिङसँग कृस १९–१७ ले स्तब्ध भएको नेपाली टोलीका प्रमुख घिसिङले जानकारी दिए।

कुमार लामा घिसिङको नेतृत्वमा रहेको नेपाली टोलीमा कुल १७ खेलाडीले प्रतिस्पर्धा गर्दा ११ पुरुष र ६ महिला खेलाडी रहेका थिए। नेपाली टोलीको प्रशिक्षणमा बब्लु सिवाकोटी छन्।

प्रकाशित: ६ श्रावण २०७६ ०५:५९ सोमबार

सुप्रिमा तेक्वान्दो स्वर्ण