खेल

महँगा खेलाडी भित्र्याउने तयारीमा आर्सनल

लन्डन – आर्सनलका प्रशिक्षक युनेई इमिरेले नयाँ सिजनका लागि महँगो रकममा शीर्ष खेलाडी भित्र्याउने प्रयास भइरहेको बताएका छन्। इमिरेले क्लबमाथि शीर्ष खेलाडी भित्र्याउन दबाब बढ्दै गएको र यस वर्षको खेलाडी आगमनले क्लब समर्थकसमेत सन्तुष्ट हुने बताएका छन्।

यसअघि आर्सनलले नयाँ सिजनका लागि इङ्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसका विल्फर्ड जाहा र सेल्टिकका काइरेन ट्रिनेलाई  भित्र्याउने प्रस्ताव गरे पनि दुवै खेलाडीले सो प्रस्ताव अस्वीकार गरेका थिए।

‘हामी तीन वा चार यस्ता खेलाडी भित्र्याउन चाहन्छाैँ, जसको आगमनले क्लबले सुधारिएको प्रदर्शन गरोस्,’ इमिरेले भने, ‘टोलीमा अहिले पनि युवा तथा उत्कृष्ट खेलाडीको बहुलता छ। त्यसैले केही नयाँ तथा उत्कृष्ट खेलाडीको आगमनले टोली थप बलियो हुनेमा हामी आशावादी छांै। क्लब समर्थकले पनि हामीबाट नयाँ सिजनका लागि धेरै आशा गरेका छन्। हामी छिट्टै महँगो रकममा शीर्ष खेलाडी भित्र्याउन तयारीमा छौं।’

आर्सनलले नयाँ सिजनका लागि ब्राजिलका युवा खेलाडी ग्याब्रियल मार्टिनेलीलाई भित्र्याइसकेको छ। आर्सनल सेन्ट इटिनीका रक्षक विलयाम सालिबालाई भिœयाउने तयारीमा छ। अर्को क्लब टोटेनह्याम पनि १८ वर्षे फ्रान्सेली रक्षकलाई अनुबन्धन गर्न इच्छुक देखिएको छ। आर्सनल गत सिजन प्रिमियर लिगको शीर्ष ४ मा पर्न असफल भएसँगै च्याम्पियन्स लिग छनोटबाट समेत टाढिएको थियो।

प्रकाशित: ५ श्रावण २०७६ ०५:३० आइतबार

आर्सनल महँगा_खेलाडी