खेल

नेपाल क्रिकेट संघको निलम्बन यथावत्

काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन यथावत् नै राखेको छ।

इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन। आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३  वैशाख १३ गते निलम्बन गरेको थियो। त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन्।

आइसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ।

त्यसैगरी आइसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ। जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बावेलाई निलम्बन गरेको हो। सरकारी हस्तक्षेप बढेको र आइसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो।

आइसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ । जिम्बावे अहिले आर्थिक सङ्कटमा छ। आइसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ।

आइसिसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ।

प्रकाशित: ३ श्रावण २०७६ ०८:२७ शुक्रबार

आइसिसी नेपाल_क्रिकेट_संघ क्यान निलम्बन_यथावत