खेल

रोय पहिलो पटक टेस्ट टोलीमा

लन्डन – इङ्ल्यान्डलाई एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जिताउँदा प्रभावशाली प्रदर्शन गरेका ओपनर जसन रोयले पहिलो पटक टेस्ट टोलीमा स्थान बनाउन सफल भएका छन्।

इङ्ल्यान्ड क्रिकेट बोर्डले बुधबार आयरल्यान्डविरुद्धको टेस्ट टोलीमा रोयलाई पहिलो पटक अवसर प्रदान गरेको हो। रोयले पहिलो पटक टोलीमा स्थान बनाउदा तीव्र गतिका बलर मार्क उडले भने चोटका कारण एकदेखि डेढ महिना मैदानबाहिर रहने भएका छन्।

इङ्ल्यान्डको विश्वकप यात्राका ११ मध्ये रोयले तीन खेल भने ह्यामस्ट्रिङका कारण गुमाएका थिए। ती खेलमा इङ्ल्यान्डले सुखद नतिजा ल्याउन सकेको थिएन। उनले चोटबाट पुनरागमन गर्दै टोलीको उपाधि यात्रालाई सार्थकता प्रदान गरेका थिए।

रोयले प्रतियोगितामा ४ सय ४३ रन प्रहार गर्दै आफ्नो क्षमता प्रमाणित गरेका थिए। इङ्ल्यान्डका छनोटकर्ताले सोही प्रदर्शनका आधारमा रोयलाई टोलीमा समावेश गरेको हो। इङ्ल्यान्डले आयरल्यान्डविरुद्धको शृंखलापछि अगस्ट १ बाट इड्गावास्टनामा अस्ट्रेलियाविरुद्धको एसेस शृंखला खेल्नेछ।
चोटका कारण उडसँगै जोफ्रा आर्चरलाई भने आयरल्यान्डविरुद्धको शृंखलाका लागि टोलीमा समावेश गरेको छैन। उडले एसेस शृंखलासमेत गुमाउने अनुमान गरिएको छ।

 

 

प्रकाशित: २ श्रावण २०७६ ०६:२० बिहीबार

इङ्ल्यान्ड टेस्ट_टोली एकदिवसीय_क्रिकेट_विश्वकप उपाधि