खेल

बक्सिङका खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं - नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका साथै विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार खेलाडी तथा प्रशिक्षकलाई बिदाइ गरे। टोलीको प्रमुख प्रशिक्षक प्रकाश थापामगर, वरिष्ठ प्रशिक्षक प्रवीण तुलाधर, प्रशिक्षक राजु थापा र उमेश कटवालसहित १७ जनाको टोलीलाई  सदस्यसचिव श्रेष्ठसहित नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, सदस्य पुष्कर पन्त, श्याम अवाले, राष्ट्रिय खेलकुद परिषद्का टोली निर्देशक महेन्द्र राईलगायतले बिदाइ गरेका थिए।

थाइल्यान्ड जाने प्रशिक्षार्थी खेलाडीमा पुरुषतर्फ सुशील थापामगर, तेजबहादुर देउवा, पुरन राई, सुनील शाही, भूपेन्द्र थापा, विकास लामा, दीपक श्रेष्ठ, गणेश प्रधान, अर्जुन सिंगु र आशिष दुवाडी छन्। महिलातर्फ सुष्मा तामाङ, ललिता महर्जन, माला राई, मिनु गुरुङ, चन्द्रकला थापा, संगीता सुनार र पुनम रावल  छन्।

राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङका खेलाडीलाई हाल बन्द प्रशिक्षणमा राखेर तालिम दिइरहेको छ। नेपाली बक्सिङ टोलीले थाइल्यान्डको बैंककमा करिब २ महिना विशेष प्रशिक्षण लिएपश्चात् जुलाई २० देखि २८ सम्म आयोजना हुने थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा भाग लिने जनाइएको छ। त्यस्तै जुलाई २२ देखि २९ सम्म इन्डोनेसियामा हुने २३औं प्रेसिडेन्ट अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका भूपेन्द्र थापाले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ संघले जनाएको छ। नेपाली टोलीलाई ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष महेश सिंहले ट्य्राक सुट प्रायोजन गरेका थिए। नेपाली टोली भदौ १२ गतेसम्म थाइल्यान्डमा रहने जनाइएको छ।
तस्वीर छ।  
 

प्रकाशित: २४ असार २०७६ ०१:४८ मंगलबार

नेपाल_ओलम्पिक बक्सिङ