खेल

ब्राजिललाई कोपा अमेरिकाको उपाधि

रियो दी जेनेरियो – अन्तिम २० मिनेट दश खेलाडीमा सीमित बनेको आयोजक ब्राजिलले पेरूलाई ३–१ ले हराउँदै आइतबार कोपा अमेरिकाको उपाधि उचालेको छ।
मारकाना स्टेडियममा आइतबार भएको खेलमा ब्राजिलले पहिलो हाफमा दुई गोल गर्दा एक गोल खाएको थियो भने दोस्रो हाफमा एक गोल गर्दै जित सुनिश्चित गरेको थियो। सेमिफाइनलमा उपाधि दाबेदाबर मानिएको टोली अर्जेन्टिनालाई हराउँदै उपाधिनजिक पुगेको ब्राजिलको जितमा एभर्टन, ग्याब्रियल जिसस र रिचार्लिसनले समान १/१ गोल गर्दा पेरूका लागि जोजे पाओलो गुइरेरोले पेनाल्टीबाट एक गोल गर्न सफल भएका थिए।

कोपा अमेरिकाको नवौं पटक उपाधि जितेको ब्राजिलले २००७ पछि उपाधि जित्न सफल भएको हो। खेलमा ब्राजिलले १५औं मिनेटमा एभर्टनको गोलबाट सुरुआती अग्रता लिएको थियो। जिससको पासमा उनले आकर्षक गोल गर्न सफल भएका थिए। त्यसपछि निकै आक्रामक देखिएको पेरूले पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा पेनाल्टीबाट गोल गर्दै खेलमा फर्किने संकेत देखायो। पेरूका कप्तान जोजे पाउलो गुइएरोले गोल गर्दै घरेलु टोलीविरुद्धको अग्रता छोट्याएका थिए। पहिलो हाफको सिटी बज्न बाँकी रहँदा उत्कृष्ट खेल प्रदर्शन गरेका जिससले गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाए।

पहिलो हाफमा लिएको अग्रतापछि दोस्रो हाफमा संयमित हुँदै खेलेको ब्राजिलका लागि ७०औं मिनेटमा झट्का लाग्यो। दोहोरो पहेंलो कार्डको सामना गरेका जिसस मैदान बाहिरिँदा घरेलु टोली बाँकी २० मिनेट १० खेलाडीमा सीमित बनेको थियो। यद्यपि ब्राजिलविरुद्ध पेरूले फाइदा उठाउन सकेन। अन्तिम मिनेटमा ब्राजिलका रिर्चालिसनले पेनाल्टीबाट गोल गर्दै जितलाई सुनिश्चित गरे। पेरूका रक्षक कार्लोस जामब्रानोले ब्राजिलका स्ट्राइकर एभर्टनलाई धकेलेपछि रेफ्रीले ब्राजिललाई पेनाल्टीको अवसर दिएका थिए। पेनाल्टी प्रहारमा आएका रिर्चालिसनले बललाई जाली चुमाए र आयोजक उपाधि उचाल्न सफल भयो।

‘हामीलाई जित निकै नै महŒवपूर्ण रहेको छ। हामीले समूहमा गरेको मिहिनेत मैदानमा देखिएको छ,’ ब्राजिलका कप्तान ड्यानी आल्भेसले भने। २००७ पछि मात्र कोपा अमेरिकाको उपाधि उचालेको ब्राजिलले क्वार्टरफाइनलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो भने अन्तिम चारको खेलमा अर्जेन्टिनालाई २–१ ले पराजित गरेको थियो। यस्तै फाइनलमा स्तब्ध बनेको पेरूले क्वार्टरफाइनलमा उरुग्वेलाई पराजित गरेको थियो भने सेमिफाइनलमा साबिक विजेता चिलीलाई ३–० ले स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको थियो। अन्तिम मिनेटमा ब्राजिलका रिर्चालिसनले पेनाल्टीबाट गोल गर्दै जितलाई सुनिश्चित गरे।

प्रकाशित: २४ असार २०७६ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App