खेल

धाेनीले लेलान त सन्यास?

काठमाडौं– भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीको सन्यास विषयलाई लिएर सामाजिक सञ्जालमा चर्चा परिचर्चा चलिरहेको छ।

विशेषगरी जारी एकदिवसीय विश्वकपमा उनको प्रदर्शनलाई लिएर आलोचना भइरहेको छ। पूर्व क्रिकेटर सौरभ गांगुली, सचिन तेन्दुलकरलगायतका पूर्व खेलाडीहरुले समेत उनको प्रदर्शनलाई लिएर असन्तुष्टि जनाइसकेका छन्। त्यस्तै भारतीय टिमका कप्तान विराट कोहलीले समेत धोनी खुल्न नसकेको स्विकारेका छन्। धोनीले जारी विश्वकपमा ७ खेलबाट २२३ रन बनाएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले धोनीले भारतीय जर्सी लगाएर खेल्ने यो अन्तिम खेल हुनसक्ने बताएका छन्। जारी विश्वकपमा भारतले मंगलबार बंगलादेशलाई हराएसँगै सेमीफाइनलमा प्रवेश गरिसकेको छ। त्यसो त भारतीय सञ्चारमाध्यहरुले बिसीसीआइका पदाधिकारीलाई उदृत गर्दै धोनीले विश्वकपपछि सन्यास लिनसक्ने सम्भावना धेरै भएको दाबी गर्दै आएका छन्। यद्यपि अस्ट्रेलियामा हुने टी २० विश्वकपले पनि निर्णयमा प्रभाव पार्न सक्ने बताउँदै आएका छन्।

'क्याप्टेन कुल', 'बेस्ट फिनिसर' काेे रूपमा देखिँदै आएका धाेनीकाे पछिल्ला प्रदर्शनले उनकाे सन्यासकाे विषयलाई अघि ल्याएकाे हाे। उनीसँग लामाे समयसम्म भारतीय टिमकाे क्याप्टेन रहेकाे गाैरव जाेडिएकाे छ। 
  

प्रकाशित: १९ असार २०७६ १०:४३ बिहीबार

महेन्द्र_सिंह_धोनी भारतीय_क्रिकेट_टिम