खेल

स्पोर्ट्स अवार्डमा प्याराग्लाइडिङको वर्चस्व

काठमाडाैं - असार १७ (नागरिक)– पल्सर स्पोर्ट्स अवार्ड २०७५ मा  प्याराग्लाइडिङले वर्चस्व कायम गरेको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्डअन्तर्गत प्याराग्लाइडिङले उत्कृष्ट पुरुष ,उत्कृष्ट प्रशिक्षक र टिम अफ दी इयर गरी तीन विधा आफ्नो पोल्टामा पा¥यो। गत वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा प्याराग्लाइडिङले रजत जितेको थियो। नेपालले एसियाली खेलकुदमा टिम इभेन्टतर्फ जितेको यो पहिलो पदक हो। व्यक्तिगततर्फ भने तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई  एसियाली खेलकुदमा रजत जिताएकी थिइन्।

उत्कृष्ट वर्ष पुरुष खेलाडीमा प्याराग्लाइडिङका युकेश गुरुङले क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पारेका हुन्। त्यस्तै उत्कृष्ट प्रशिक्षकमा प्याराग्लाइडिङकै योगेश भट्टराईले, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्कालाई पछि पार्दै वर्ष प्रशिक्षक बने।

यता साफ महिला फुटबल च्याम्पियनसिपमा नेपललाई उपविजेता बनाउन र टोलीलाई ओलम्पिक छनोटको दोस्रो चरण प्रवेश गराउन महत्वपूर्ण योगदान गरेकी राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी वर्ष उत्कृष्ट महिला खेलाडी बनिन्। सावित्राले वर्ष खेलाडी बन्ने क्रममा भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि छोडिन्।

त्यस्तै पिपुल्स च्वाइस अवार्डमा भलिबलकी रेश्मा भण्डारीले बाजी मारिन्। रेश्माले ३२ प्रतिशत मत हात पारिन्। सोही विधामा सावित्राले २९ प्रतिशत मत हात पार्दा शारीरिक सुगठनका महेश्वर महर्जनले १५,ब्याड्मिन्टनका प्रिन्स दाहालले १३ र क्रिकेटका सन्दीप लामिछानेले ८ प्रतिशत मत हात पारे। वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गरे।

यस्तै एथलेटिक्सका अजितकुमार यादव उत्कृष्ट युवा खेलाडी बने अजितले हङकङमा सम्पन्न एसियाली च्याम्पिनसिपमा ऐतिहासिक स्वर्ण पदक जिताएका थिए। यस क्रममा अजितले क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठलाई पछि पारे।

कार्यक्रमै घोषणा गरिएको पारा एथ्लेट्स अवार्ड नेत्रहीन महिला क्रिकेट टोलीकी सदस्य मनकेसी चौधरीले हात पारिन्। मनकेसीले पाकिस्तानविरुद्धको शृंखला जित्दा टोलकी महत्वपूर्ण सदस्य थिइन्। त्यस्तै लाइफटाइम एचिभमेन्ट अवार्ड एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकायालाई प्रदान गरियो।

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले स्पेसल अवार्ड जिते। युवा, पारा, लाइफ टाइम अचिभमेन्ट, टिम अफ दी इयर र स्पेसल अवार्डतर्फका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे।

यता पहिलो पटक समावेश गरिएको एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट एआइपिएसका महासचिव मलिक अम्जाद अजिज सम्मानित भए। वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गरे।

प्रकाशित: १८ असार २०७६ ०२:२६ बुधबार

स्पोर्ट्स_अवार्ड प्याराग्लाइडिङ खेलाडी