खेल

क्षमतावान् तीव्र गतिका बलर, रणनीतिक खेलाडी साबित

बर्मिङ्घम – मोहम्मद सामीको लगातार घातक बलिङका बावजुद पनि भारतले इङ्ल्यान्डविरुद्धको खेलबाट आफ्नो अपराजित यात्रामा पूर्णविराम लगाइसकेको छ। दोस्रो रोजाइका बलरका रूपमा भारतीय टोलीमा अवसर पाएका सामीका लागि यस विश्वकपका निकै विशेष बनिरहेको छ। तीव्र गतिको बलिङमा लगातार विकेट लिनु सामी र भारतका लागि सन्तुलित प्रदर्शन बन्न मद्दत मिलिरहेको छ। यस विश्वकप क्रिकेट सुरु हुँदा सामी भारतका लागि दोस्रो रोजाइका बलरका रूपमा बाहिर नै रहेका थिए।

भारतका लागि जसप्रीत बुमराह र भुवनेश्वर कुमारले तीव्र गतिको बलिङको नेतृत्व लिँदा सुरुआती चार खेलमा सामी बेन्चमै सीमित हुन बाध्य भए। तर, पाकिस्तानसँगको खेलमा भुवनेश्वर कुमार घाइते भएपछि सामीले पाँचौं खेलबाट अवसर पाए। त्यसपछिका भने सामीले आफूलाई बेन्चमा सीमित गरिनु छनोट टोलीका गल्ती भएको साबित गरिदिएका छन्।

उनले लगातार तीन खेलमा ४ भन्दा बढी विकेट लिएका छन्। सामी तीन खेलबाटै १३ विकेटसहित धेरै विकेट लिने बलरको सूचीमा पाँचौं स्थानमा छन्। कम खेल खेलेर पनि उनले ८ खेल खेलेका कयौं स्टार बलरलाई पछि पारेका छन्। गत इङ्ल्यान्डविरुद्धको खेलमा उनले पाँच विकेट लिए। यद्यपि, उक्त खेलमा उनी महँगा साबित हुन पुगे।
त्यसअघि अफगास्तिानविरुद्धको खेलबाट सामीले आफूले पाएको अवसर सदुपयोग गर्दा उत्कृष्ट प्रदर्शन गरे। उक्त खेलमा गरेको प्रदर्शनबाट सामीले भारतको तीव्र गतिको बलिङमा आफूलाई प्रमाणित गरे। जारी विश्वकपमा आफ्नो पहिलो खेलमै ह्याट्रिकसहित चार विकेट लिएपछि सामीको बलिङप्रति भारतको प्रशिक्षण टोली र कप्तानले पनि भरोसा गर्न थालेका थिए।

उनीप्रति टोलीले भरोसा गर्नु पनि स्वाभाविक थियो। उनले अफगानिस्तानविरुद्ध कठिन परिस्थितिमा पनि ह्याट्रिकसहित चार विकेट लिँदा भारतले निकै संघर्षपूर्ण जित रच्यो। वेस्ट इन्डिजसँगको खेलमा उनले विकेटसँगै किफायती बलिङसमेत लिए। कुल ६.२ ओभर बलिङ गरेका सामीले १६ रन मात्र खर्चिए।

जारी विश्वकपको सेमिफाइनलमा पुग्ने लक्ष्यसहित भारत मंगलबार बंगलादेशविरुद्ध उत्रँदै छ। उक्त खेलमा जित निकाले वा वर्षा भए पनि भारतले सेमिफाइनलमा स्थान बनाउनेछ। घरेलु टोलीविरुद्ध जित निकाल्न सामीको प्रदर्शन उच्च हुनुपर्नेछ। सामी निकै क्षमतावान् तीव्र गतिका बलर हुन्। बंगलादेशविरुद्ध पनि सामीको प्रदर्शन उच्च रहने  टोलीको आशा छ।

रणनीतिक खेलाडी साबित

बर्मिङ्घम – पछिल्ला दुई खेलमा बंगलादेशका विकेटकिपर एवं ब्याट्सम्यान मुस्फिकर रहिमले राम्रो ब्याटिङ गरिरहेका छन्। अस्ट्रेलियाविरुद्धको खेलमा शतक प्रहार गर्दै आफ्नो लय समातेका मुस्फिकर त्यस लगत्तै अफगानिस्तानविरुद्ध पनि अर्धशतकीय इनिङ खेल्न सफल भए। बंगलादेशका लागि निकै भरपर्दा ब्याट्सम्यानका रूपमा चिनिने मुस्फिकर अस्ट्रेलियासँग १ सय २ रनमा नटआउट रहेका थिए। यद्यपि, बंगलादेशले विशाल लक्ष्य पछ्याउँदा थोर अन्तरको हार बेहो-यो।

अफगानिस्तानसँग पनि लयलाई निरन्तरता दिँदा मुस्फिकर ८३ रनको बलियो अर्धशतकीय इनिङ खेल्न सफल भए। त्यसअघि दक्षिण अफ्रिकामाथि बंगलादेशले जित निकाल्दा पनि मुस्फिकरले प्रशसंनीय ब्याटिङ गरेका थिए। मुस्फिकरले ७८ रनको योगदान दिँदा बंगलादेशले सहजै तीन सय रनको योगफल पार गरेको थियो।

इङ्ल्यान्डसँगको खेलमा पनि उनले ४४ रनको योगदान दिए। मुस्फिकरको ब्याटिङ न्युजिल्यान्ड र वेस्ट इन्डिजविरुद्ध भने खासै राम्रो चल्न सकेन। यद्यपि, पछिल्ला ९ खेलको नतिजा नियाल्ने हो भने मुस्फिकरले ५७.६२ को औसतमा ४ सय ६१ रन बटुल्दै तारिफयोग्य प्रदर्शन गरेका छन्।

यस विश्वकपमा पनि उनले एक शतक र दुई अर्धशतकबाट ३ सय २७ रन बटुलेका छन्। सन् २००६ मा जिम्बाब्वेविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका मुस्फिकरले यसबीच २ सय ११ खेलमा सात शतक र ३५ अर्धशतकबाट ५ हजार ८ सय ८५ रन बनाएका छन्।

आफ्नो ब्याटिङसँगै विकेटकिपिङमा पनि चलाखपूर्ण खेलाडी मानिन्छन् उनी। साथै मुस्फिकर कठिन समयमा कप्तान मसरफ मोर्तजालाई सहयोग गर्न सक्ने क्षमता पनि राख्दछन्। त्यसैले हरेक खेलमा रणनीतिक खेलाडी साबित हुँदै आएका छन्। भारतविरुद्धको खेलमा पनि उनीबाट टोलीले सोही किसिमका प्रदर्शनको आशा गरेको छ।

प्रकाशित: १७ असार २०७६ ०२:०३ मंगलबार

प्लेयर्स_टु_वाच विश्वकप_क्रिकेट मोहम्मद_सामी मुस्फिकर_रहिम