खेल

सम्भावना कायमै राख्न पाकिस्तान र न्युजिल्यान्ड दबाबमा

लिड्स – इङल्यान्ड–वेल्समा जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत शनिबार अस्ट्रेलिया र न्युजिल्यान्डबीच भिडन्त हुँदै छ। यस विश्वकपमा अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली भइसकेको छ। त्यसैले न्युजिल्यान्डविरुद्ध अस्ट्रेलिया शीर्षताको होड थप बलियो पार्न जितको खोजिमा हुनेछ। साथै उक्त खेलमा अस्ट्रेलियालाई दबाब पनि कम हुनेछ। पछिल्लो खेलमा आयोजक इङल्यान्डमाथि ६४ रनको जित निकाल्दा अस्ट्रेलिया सेमिफाइलनमा स्थान बनाउने पहिलो टोली बनेको थियो।

अस्ट्रेलिया र न्युजिल्यान्डबीचको भिडन्तले गत संस्करणको विश्वकप फाइनलको समेत झल्को दिनेछ। गत संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए। जहाँ अस्ट्रेलियाले एकतर्फी बनेको खेलमा न्युजिल्यान्डलाई निराश पार्दै पाँचौं पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचालेको थियो।

उक्त खेलमा तीव्र गतिका बलर मिचेल स्टार्कको बलिङ सह–आयोजक न्युजिल्यान्डका लागि घातक बनेको थियो। त्यही लयमा यस विश्वकपमा पनि जारी राखेका स्टार्क शनिबार न्युजिल्यान्डका लागि चुनौतीपूर्ण बलर हुन्। त्यसैले न्युजिल्यान्डका ब्याट्सम्यानलाई स्टार्कको तीव्र गतिको बलिङ आक्रमण रोक्न कठिन हुनेछ।

यस विश्वकपमा अस्ट्रेलियाका शीर्ष क्रमका ब्याट्सम्यान पनि उत्कृष्ट लयमा छन्। ओपनर डेविड वार्नर र कप्तान एरोन फिन्चले समान २ शतक पूरा गरिसकेका छन् भने स्टिभ स्मिथ, उस्मान ख्वाजा र ग्लेन म्याक्सवेल समेत स्वभाविक लयमा छन्। बलिङतर्फ स्टार्कलाई मार्क स्टोइनिस र प्याट् कमिङसका साथ रहनेछ।

अस्ट्रेलिया ७ खेलमा ६ जित र १ हारको नतिजापछि १२ अंकका साथ शीर्ष स्थानमा छ भने ६ खेलमा ५ जित र १ हार व्यहोरेको न्युजिल्यान्ड ११ अंकका साथ दोस्रो स्थानमा छ। भारतसँग अस्ट्रेलियाले हार बेहोरेको थियो। सोही भारतसँगको खेलमा भने न्युजिल्यान्डले वर्षाका कारण अंक बाँडेको थियो।

यता न्युजिल्यान्डलाई भने अघिल्लो चरण प्रवेश सम्भावना बलियो पार्न अस्ट्रेलियाविरुद्ध जितको विकल्प छैन। श्रीलंकाविरुद्धको पहिलो खेलमा ओपनिङ जोडी  जमे पनि त्यसपछिका खेलमा भने न्युजिल्यान्डको इनिङ मध्यक्रमका कप्तान केन विलियम्सन, रस टेलर र जेमी निसमले सम्हाल्दै आएका छन्।

न्युजिल्यान्डको बलिङ मोर्चा भने ट्रेन्ट बोल्ट र लोकी फर्गुसन सम्हाल्ने छन्। शनिबारको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ। पाकिस्तानका लागि अर्को चरणको यात्रा कायमै राख्न उक्त खेल निकै महत्वपूर्ण छ। लगातार साताैं हारपछि अफगानिस्तान यस विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ। पाकिस्तानले पछिल्ला २ खेलमा क्रमशः दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई निराश पार्र्दै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राखेको थियो। पाकिस्तान ७ खेलमा ७ अंकका साथ छैटाै स्थानमा छ।

अस्ट्रेलिया र न्युजिल्यान्डबीचको भिडन्तले गत संस्करणको विश्वकप फाइनलको समेत झल्को दिनेछ। गत संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए। जहाँ अस्ट्रेलियाले एकतर्फी बनेको खेलमा न्युजिल्यान्डलाई निराश पार्दै पाँचौं पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचालेको थियो।

प्रकाशित: १४ असार २०७६ ०२:०२ शनिबार

विश्वकप अस्ट्रेलिया न्युजिल्यान्ड क्रिकेट