खेल

सुखद अन्त्यको लक्ष्यमा मनाङ

पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक छिरिङ लोप्साङ (बायाँ) र कप्तान विराज महर्जन । तस्बिरः नागरिक

काठमाडौं – दोस्रो चरणको सम्भावनाबाट बाहिरिसकेको मनाङ मर्स्याङदी क्लब एएफसी कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ।

घरेलु मैदानमा बुधबार मनाङले भारतीय क्लब चेन्नाइनविरुद्ध समूहचरणको अन्तिम खेलमा चुनौती प्रस्तुत गर्दै छ। मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको प्रिम्याच कन्फ्रेरेन्सको अवसरमा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भारतीय टोलीविरुद्ध जित निकाल्दै एएफसी कपबाट सुखद अन्त्य गर्ने दाबी गरेका हुन्। 

प्रशिक्षक लोप्साङले आफ्नो टोली मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्न तयार रहेको समेत बताएका छन्। ‘हामी घरेलु मैदानमा अन्तिम खेल खेल्दै छौं,’ मनाङका प्रशिक्षक लोप्साङले भने,‘हाम्रो उद्देश्य उनीहरूविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नु हो। यस पटक यसअघिको भन्दा फरक किसिमले खेल्दै सुखद अन्त्य गर्नेछौं।’

उनले यसअघि अबहानीविरुद्धको खेलमा आत्मविश्वासको कमी रहेको बताउँदा यस पटक जित निकालेर सकारात्मक नतिजाका साथ प्रतियोगिता टुंग्याउने थपे। प्रशिक्षक लोप्साङले यसअघिका खेलका प्रतिद्वन्द्वी आफूहरूभन्दा निकै बलियो रहेको दाबी गर्दै अझै धेरै सिक्न बाँकी रहेको धारणा व्यक्त गरे। चेन्नाइनका प्रशिक्षक जोन चाल्र्स ग्रेगोरीले बुधबारको खेलमा जित निकालेर नकआउट चरणमा स्थान बनाउने लक्ष्य रहेको बताए।

प्रशिक्षक जोनले मनाङविरुद्ध उसकै मैदानमा खेल्नु दबाब भए पनि त्यो दबाबबाट मुक्त भएर तीन अंकका लागि उत्रने बताए। उनले आपूmहरू दुई पटकको लिग च्याम्पियन रहेको बताउँदै दबाबमा पनि जित निकाल्ने क्षमता भएको उल्लेख गरे। ‘अर्को चरणको यात्रा तय गर्न यो खेलमा जित आवश्यक छ,’ चेन्नाइनका प्रशिक्षक जोनले भने,‘स्वाभाविक प्रदर्शन गर्दै घरेलु टोलीविरुद्ध हाबी हुनेछौं।’

समूहमा चेन्नाइनको आठ अंक छ। बुधबार मनाङलाई हराए पनि चेन्नाइनले दोस्रो चरणका लागि अबहानी लिमिटेड र मिनर्भा पन्जाबविरुद्धको खेलको नतिजा पनि कुर्नुपर्नेछ। उक्त खेलमा अबहानीले हार बेहोरे पनि समूह ‘इ’ बाट चेन्नाइनले दोस्रो चरणको यात्रा बनाउनेछ।

 

प्रकाशित: ११ असार २०७६ ०६:३५ बुधबार

मनाङ_मर्स्याङदी_क्लब एएफसी_कप