खेल

साबिक विजेता अस्ट्रेलिया सेमिफाइनलमा

इङ्ल्यान्डका जोफ्रा आर्चरको विकेट लिएपछि अस्ट्रेलियाका खेलाडी । तस्बिरः एपी

लर्ड्स – आयोजक इङ्ल्यान्डमाथि ६४ रनको  जित निकाल्दै पाहुना टोली अस्ट्रेलिया इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबारको जितसँगै साबिक विजेता अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ।

अन्तिम चारमा स्थान सुरक्षित गर्दा अस्ट्रेलियाका कप्तान एरोन फिन्चको शतकीय इनिङ, बलर जसन बेड्नडोर्फको सर्वाधिक ५ र मिचेल स्टार्कको ४ विकेट महत्वपूर्ण रह्यो। यस्तै मार्कस स्टोइनिसले एक विकेट हात पारे।

अस्ट्रेलियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोली इङ्ल्यान्ड ४४.४ ओभरमा सबै विकेट गुमाएर मात्र २ सय २१ रन जोड्न सफल भयो। इङ्लिस टोलीका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको इनिङ खेले पनि जितका लागि त्यो पर्याप्त भएन। १ सय १५ बलको सामना गरेका स्टोक्सले ८ चौका र २ छक्का प्रहार गरे। सुरुआतबाट नै झट्का बेहोरेको इङ्ल्यान्डका लागि जोनी बेयस्र्टोले २७, क्रिस ओक्सले २६ तथा जस बटलर र आदिल रसिदले समान २५ रनको योगदान गर्दा अन्य पाँच ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन्।

१ सय १६ बलको सामना गरेका एरोन फिन्चले ११ चौकाको मद्दतमा सय रन पूरा गर्दा जोफ्रा आर्चरको बलमा क्रिस ओक्सबाट क्याच हुँदै पवेलियन फर्किएका थिए।

सात खेल खेलेको अस्ट्रेलियाको छैटौं जितसँगै तालिकामा १२ अंक भएको छ। अस्ट्रेलिया भारतसँग ३६ रनले पराजित भएको थियो।  उता पराजित टोली इङ्ल्यान्ड ८ अंकका साथ चौथो स्थानमा यथावत् छ। यससँगै आयोजकको जारी प्रतियोगिताको तेस्रो हार हो।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ५० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय ८५ रन जोड्न सफल भएको थियो।

अस्ट्रेलियाका लागि ओपनर तथा म्यान अफ दी म्याच एरोन फिन्चले शतक बनाउँदा डेविड वार्नरले अर्धशतकीय इनिङ खेले। १ सय १६ बलको सामना गरेका फिन्चले ११ चौकाको मद्दतमा सय रन पूरा गर्दा जोफ्रा आर्चरको बलमा क्रिस ओक्सबाट क्याच हुँदै पवेलियन फर्किएका थिए। वार्नरले ६ चौकाको मद्दतमा ५३ रन बटुल्दा अस्ट्रेलियाले पहिलो विकेट गुमाएको थियो। १ सय २३ रनको ओपनिङ साझेदारी गरेका वार्नरपछि अस्ट्रेलियाले अर्को ५० रन जोड्दा दोस्रो विकेटका रूपमा उसमान ख्वाजालाई २३ रनमा गुमाएको थियो।

सुरुआत राम्रो भए पनि मध्यक्रमका ब्याट्सम्यानले राम्रो स्कोर गर्न नसक्दा अस्ट्रेलियाको इनिङ धरमराएको थियो। स्टेभन स्मिथ ३८ रनमा क्रिस ओक्सको बलिङमा जोफ्रा आर्चरबाट समातिँदा ग्लेन म्याक्सवेल १२ रनमा मार्क उडको बलमा पवेलियन फर्किएपछि अस्ट्रेलिया पुनः कठिन अवस्थामा पुगेको थियो। एलेक्स क्यारीले अविजित ३८ रन जोड्दा अस्ट्रेलियाले आयोजक टोलीमाथि मध्यम योगफल प्रस्तुत गरेको थियो। बाँकी अन्य तीन ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। अस्ट्रेलियाको इनिङलाई रोक्न क्रिस ओक्सले २ विकेट हात पार्दा जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले समान १ विकेट लिए।

प्रतियोगितामा बुधबार अपराजित टोली न्युजिल्यान्डले एसियाली टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। सम्पन्न ६ खेलबाट तालिकामा न्युजिल्यान्डको ११ अंक छ भने पाकिस्तानको समान ६ खेलमा ५ अंक छ। न्युजिल्यान्डले पाकिस्तानमाथि जित निकालेको खण्डमा सेमिफाइन स्थान लगभग पक्का हुनेछ। यस्तै पाकिस्तानले पराजय भोगे अघिल्लो चरणको यात्रा कठिन हुनेछ।

प्रकाशित: ११ असार २०७६ ०६:०७ बुधबार

क्रिकेट अस्ट्रेलिया इङ्ल्यान्ड