खेल

सुखद नतिजाको खोजीमा पाकिस्तान

लन्डन – अपराजित टोली न्युजिल्यान्डले बुधबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्दा जितको खोजीमा मैदान उत्रिनेछ। पाकिस्तान पनि अघिल्लो चरणको यात्रालाई जीवन्त राख्न सुखद नतिजाको खोजीमा हुनेछ।

एकदिवसीय विश्वकप इतिहासमा ८ पटक आमनेसामने हुँदा सर्वाधिक ६ पटक नतिजा सुम्पिएको न्युजिल्यान्डलाई बुधबार जित निकाल्दा अग्रता छोट्याउने अवसर हुनेछ। इतिहासमा कमजोर देखिएको न्युजिल्यान्ड पाकिस्तानलाई हराउँदै दबदबा चिर्ने लक्ष्यमा हुनेछ।

केन विलियम्सनको किवी टोली यसअघिका खेलमा जित निकाल्दा उच्च मनोबलमा रहनेछ। जारी विश्वकपमा केन विलियम्सन उत्कृष्ट ब्याटिङ गर्ने खेलाडीको शीर्ष सूचीको पाँचौं नम्बरमा छन्। उनकै उत्कृष्ट ब्याटिङको मद्दतमा किवी टोली पाकिस्ताविरुद्ध ढुक्क भएर खेल्ने सोचमा छ। तर न्युजिल्यान्डलाई त्यति सहज भने हुने छैन। पाकिस्तानी बलर मोहम्मद आमिरको बलिङ सामना गर्नु न्युजिल्यान्डलाई चुनौती रहनेछ। किनकि आमिर जारी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीको शीर्ष तीनमा छन्। उनले १५ विकेट हात पारेका छन्।

यसका अलावा मार्टिन गुप्टिल, रोस टेलर, कोलिन डी ग्रान्डहोम, कोलिन मुनरोजस्ता ब्याट्सम्यानले भरिएको न्युजिल्यान्ड पाकिस्तानविरुद्ध दबाबरहित भएर खेल्नेमा ढुक्क छ। अघिल्लो खेलमा प्राप्त गरेको सफलता र मनोबल किवी टोलीको बलियो पक्ष हुनेछ। तर न्युजिल्यान्डले वाहब रियाज, शाहिन अफ्रिदी, हसन अली, सोइब मलिकजस्ता बलरको बलिङलाई निक्र्योल गर्नु त्यति सहज छैन। त्यसैले अपराजित टोली न्युजिल्यान्डले लयलाई निरन्तरता दिन पाकिस्तानी बलरसामु संयमित हुन जरुरी छ। न्युजिल्यान्डको ६ खेलबाट ११ अंक छ। एक खेलमा भारतसँग वर्षाका कारण अंक बाँड्दा बाँकी पाँच खेलमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ।

यता पाकिस्तान पनि पुरानो शाख फर्काउन बुधबार अपराजित टोलीको लयलाई पूर्णविराम लगाउने उद्देश्यका साथ मैदान उत्रिनेछ। सम्पन्न ६ खेलमध्ये २ खेलमा मात्र जित हात पारेको पाकिस्तानले तीन खेल गुमाएको छ भने एक खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाँडेको थियो। तालिकामा ५ अंक जोडेको पाकिस्तानले सेमिफाइनल यात्रा तय गर्न सुखद नतिजा आवश्यक छ भने गणितीय आधारमा पनि भर पर्नु बाध्यता हुनेछ। पाकिस्तान बुधबार हुने खेलमा गर या मरको अवस्थामा मैदान उत्रिनेछ। त्यसैले कप्तान सरफराज अहमदको कप्तानी भूमिका र ब्याटिङ जिम्मेवारी टोलीका लागि निकै महŒवपूर्ण रहनेछ। पाकिस्तानका लागि बाबर आजम, आसिफ अली, फकर जमान, ह्यारिस सोहिल, इमाम उल हक, मोहम्मद हाफिज, इमाद वासिमजस्ता ब्याट्सम्यानको ब्याटिङ टोलीका लागि निकै महत्वपूर्ण हुनेछ। तर पाकिस्तानी ब्याट्सम्यानलाई किवी टोलीको बलिङ चुनौती सामना गर्नु सहज हुने छैन। लकी फर्गुसन, ट्रेन्ट बोल्ट, टिम साउथी, मिचेल सान्टनरजस्ता बलरले भरिएको न्युजिल्यान्डको टोली बलिङ पक्षमा पनि अब्बल छ। यी बलरको सामना गर्नु पाकिस्तानी ब्याट्सम्यानलाई निकै चुनौती हुनेछ।

प्रकाशित: ११ असार २०७६ ०५:५६ बुधबार

क्रिकेट पाकिस्तान न्युजिल्यान्ड