खेल

एसेजको झल्को दिने खेल

लन्डन – विश्वकप क्रिकेटअन्तर्गत मंगलबार विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी आयोजक इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदा त्यसले एसेज टेस्ट शृंखलाको झझल्को दिनेछ। १० टोली सहभागी प्रतियोगिताका शीर्ष ४ टोली सेमिफाइनल प्रवेश गर्नेछन्। त्यसैले दुवै टोलीको लक्ष्य समान हुनेछ, सुखद नतिजाका साथ अघिल्लो चरण प्रवेश सम्भावना बलियो बनाउने ।

समान ६ खेलको समाप्तिमा अस्ट्रेलिया ५ जित र १ हारको नतिजाका साथ १० अंक जोड्दै दोस्रो स्थानमा छ। यता समान खेलमा ४ जित र २ हारपछि ८ अंकका साथ इङ्ल्यान्ड चौथो स्थानमा छ। अस्ट्रेलियाले अफगानिस्तान, पाकिस्तान, वेस्ट इन्डिज, बंगलादेश र श्रीलंकालाई हराएको थियो भने भारतलाई नतिजा सुम्पिएको थियो । यता वेस्ट इन्डिज, बंगलादेश, दक्षिण अफ्रिका र अफगानिस्तानलाई निराश पारेको इङ्ल्यान्डले पाकिस्तान र श्रीलंकालाई भने नतिजा सुम्पिएको थियो।

जारी प्रतियोगितामा दुवै टोलीका शीर्ष क्रमका ब्याट्सम्यानका साथै तीव्र गतिका बलरसमेत उच्च लयमा छन्। त्यसैले यी दुई टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेमा दुविधा छैन। अस्ट्रेलियाका ओपनर एरोन फिन्च र डेविड वार्नरले प्रतियोगितामा शतक पूरा गरिसकेका छन्। यस क्रममा वार्नरले दुई शतक पूरा गरिसकेका छन्।

त्यसैले वार्नर र फिन्चको ओपनिङ जोडीलाई रोक्न इङ्ल्यान्डको तीव्र गतिको बलिङ आक्रमणको मोर्चा सम्हालेका जोर्फा आर्चर, मार्क उड र क्रिस ओक्सलाई कठिन हुनेछ । त्यस्तै मध्यक्रममा ब्याट्सम्यान उस्मान ख्वाजा र स्टिभ स्मिथले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। आर्चर अस्ट्रेलियाका मिचेल स्टार्क र पाकिस्तानमा मोहम्मद आमिरसँग समान १५ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडी सूचीको अग्रस्थानमा छन्।

विश्वकपअघि भएको अभ्यास खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई १२ रनले हराएको थियो। त्यस क्रममा स्मिथले शतक पूरा गरेका थिए। त्यसैले अस्ट्रेलिया अभ्यास खेलको नतिजा निरन्तरता दिने लक्ष्यमा हुनेछ भने इङ्ल्यान्ड सो हारको बदलाका साथै अघिल्लो चरण प्रवेश सम्भावना जीवित राख्न चाहन्छ।

यता इङ्ल्यान्ड टोली पनि जारी प्रतियोगितमा उत्कृष्ट लयमा रहेको छ। सुरुआती खेलहरूमा ओपनर जोनी बेयरस्टो र जसन रोयको जोडीले उत्कृष्ट प्रदर्शन गरेको थियो। मध्यक्रममा जो रुट,जस बट्लर र बेन स्टोक्सले गतिलो साथ दिएका थिए। तर जसन रोय चोटका कारण मैदानबाहिर बसेसँगै टोलीमा स्थान बनाएका जेम्स भिन्सेले सोचेअनुरूपको प्रदर्शन गर्न नसक्दा इङ्ल्यान्डको इनिङ धरमराएको थियो। इङ्ल्यान्डको मुख्य चुनौती भनेको मिचेल स्टार्कको तीव्र बलिङ आक्रमणलाई रोक्नु हुनेछ।

प्रकाशित: १० असार २०७६ ०३:३४ मंगलबार

विश्वकप_क्रिकेट सेमिफाइनल अस्ट्रेलिया