खेल

विकेटसँगै फर्गुसनको किफायती बलिङ

लन्डन– न्युजिल्यान्ड जारी विश्वकप क्रिकेटमा अपराजित दुई टोलीमध्ये एक हो। विश्वकपका चार खेलबाट तीन जित निकालेको न्युजिल्यान्डले  वर्षाका कारण भारतविरुद्धको खेलमा भने अंक बाँडेको थियो।

न्युजिल्यान्डले तीन जित निकाल्दा बलरको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ। बलरले उत्कृष्ट प्रदर्शन गर्दा न्युजिल्यान्डले तीनै खेलमा विपक्षीलाई अलआउट गर्न सफल भयो। न्युजिल्यान्डलाई यो सफलता दिलाउन लकी फर्गुसनको प्रदर्शन उत्कृष्ट रह्यो। जारी विश्वकपमा ८ विकेट लिएका फर्गुसन न्युजिल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर हुन्।

निकै किफायती बलिङ गरेका फर्गुसनले तीन मेडनसमेत राखेका छन्। कुल २५.२ ओभरमा फर्गुसनले ३.८८ को रनरेटमा ९९ रन मात्र खर्चिएका छन्। उनी यस विश्वकपमा हालसम्म सबैभन्दा किफायती बलर साबित भइरहेका छन्। सन् २०१४–०१५ को सिजनको लिस्ट ‘ए’ खेलमा ३१ विकेट लिएपछि फर्गुसनले न्युजिल्यान्डको राष्ट्रिय टोलीको ढोका खोलेका थिए।

त्यसपछि फर्गुसनले सन् २०१६ मा अस्ट्रेलियाविरुद्धको खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। यसबीच उनले ३० खेलमै ५४ विकेट लिएका छन्। अन्य बलरको तुलनामा कम अनुभवी बलर भए पनि २८ वर्षे तीव्र गतिका बलर फर्गुसन पछिल्ला समय उत्कृष्ट लयमा छन्। विश्वकपको पहिलो खेलमा उनले श्रीलंकाविरुद्ध ६.२ ओभरमा २२ रन मात्र खर्चिंदा ३ विकेट लिएका थिए।

उनकै बलिङप्रेरित न्युजिल्यान्डले श्रीलंकामाथि १० विकेटको जित निकालेको थियो। बंगलादेशविरुद्ध १० ओभर बलिङ गरेका फर्गुसनले ४० रन खर्चिंदा एक विकेट लिए। अफगानिस्तानविरुद्ध भने ९.१ ओभर बलिङ गरेका फर्गुसनले निकै किफायती बलिङ गर्दा ३७ रन मात्र खर्चिए।

साथै उनले चार विकेट लिँदा अफगानी टोली निर्धारित ओभर अगावै समेटिएको थियो। न्युजिल्यान्डले बुधबार दक्षिण अफ्रिकासँग खेल्दै छ। पछिल्ला समयमा खराब प्रदर्शनबाट गुज्रिरहेका दक्षिण अफ्रिकी ब्याट्सम्यानका लागि फर्गुसन घातक बन्न सक्नेछन्।

प्रकाशित: ४ असार २०७६ ०६:०३ बुधबार

एकदिवसीय_विश्वकप फर्गुसन न्युजिल्यान्ड