खेल

न्युजिल्यान्डको अपराजित यात्रा कायम राख्ने लक्ष्य

बर्मिङ्घम– जारी विश्वकपका दुई अपराजित टोलीमध्येको एक न्युजिल्यान्ड बुधबार दक्षिण अफ्रिकाको सामना गरी सोही यात्राको निरन्तरतालाई कायम राख्दै शीर्ष ४ मा आफ्नो दाबेदारी थप बलियो पार्न चाहन्छ।

न्युजिल्यान्ड र भारत इङ्ल्यान्ड र वेल्समा जारी विश्वकपमा सहभागी १० राष्ट्रमध्येका दुई अपराजित टोली हुन्। न्युजिल्यान्डले पहिलो खेलमा श्रीलंकामाथि १० विकेटको जितका साथ प्रतियोगितामा रबाफिलो सुरुआत गरेको थियो। तर दोस्रो खेलमा बंगलादेशलाई हराउन भने साबिकको उपविजेता न्युजिल्यान्डलाई हम्मे परेको थियो। श्रीलंकाविरुद्धको पहिलो खेलमा शतकीय साझेदारी गरेका ओपनर मार्टिन गुप्टिल र कोलिन मुनरोले बंगलादेशविरुद्ध भने ठोस साझेदारी गर्न सकेनन्। सो खेलमा कप्तान केन विलियम्सन र भरपर्दा ब्याट्सम्यान रस टेलरले मध्यक्रममा न्युजिल्यान्डको इनिङ सम्हालेका थिए। भारतविरुद्धको खेलमा भने वर्षा बाधक बनेको थियो। अफगानिस्तानविरुद्धको खेलमा सहज जित हात पारे पनि त्यो खेलमा पनि न्युजिल्यान्डका ओपनरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। त्यस खेलमा पनि विलियम्सन र टेलरले न्युजिल्यान्डको इनिङ सम्हालेका थिए।

बलिङतर्फ भने न्युजिल्यान्डका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। त्यस क्रममा ल्युक फर्गुसनले ३ खेलमा ८ विकेट लिएका छन्।

यता पछिल्लो खेलमा अफगानिस्तानमाथि ९ विकेटको जितका साथ पाँचांै खेलमा आएर प्रतियोगितामा पहिलो विजयको स्वाद चाखेको दक्षिण अफ्रिकासामु अघिल्लो चरण प्रवेशका लागि न्युजिल्यान्डविरुद्ध जितको विकल्प छैन। दक्षिण अफ्रिकाको ५ खेलमा ३ अंक छ र टोली आठाैं स्थानमा छ।

पहिलो खेलमा आयोजक इङ्ल्यान्डलाई नतिजा सुम्पिएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेश, तेस्रो खेलमा भारतसँग निराश भएको थियो। वेस्ट इन्डिजविरुद्धको खेल वर्षाले रोकिँदा अंक खाता खोलेको दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध जित हात पारेको थियो।

प्रतियोगितामा बलिङतर्फ आशानुरूप प्रदर्शन भए पनि दक्षिण अफ्रिकाका शीर्ष क्रमका ब्याट्सम्यानले जिम्मेवारीपूर्ण ब्याटिङ गर्न सकिरहेका छन्। अफगानिस्तानमाथिको जितपछि दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले शीर्ष ४ टोलीमा बस्दै इङ्ल्यान्ड र वेल्समा जारी विश्वकपमा अघिल्लो चरण प्रवेशका लागि आफ्नो टोलीसामु बाँकी रहेका सबै खेलमा जितको विकल्प नभएको प्रतिक्रिया दिएका थिए।

‘यस जितले टोलीको मनोबल बढेको छ। खेलाडीहरूमा अझै अघिल्लो चरण प्रवेश सम्भावना सकिएको छैन भन्ने बुझेका छन्,’ डु प्लेसिसले भनेका थिए, ‘हामीसामु अब बाँकी सबै खेलमा विजयी नतिजा ल्याउनुको विकल्प छैन र आजको जित त्यसकै एउटा कदम हो।’

प्रकाशित: ४ असार २०७६ ०५:४३ बुधबार

न्युजिल्यान्ड दक्षिण_अफ्रिका एकदिवसीय_विश्वकप