खेल

आमिरको लोभलाग्दो प्रदर्शन

 लन्डन– पाकिस्तानलाई भारतविरुद्ध जित दिलाउन तीव्र गतिका बलर मोहम्मद आमिरको प्रदर्शन महत्त्वपूर्ण साबित हुन सक्छ। पाकिस्तानले खासै राम्रो प्रदर्शन गर्न नसके पनि आमिरको प्रदर्शन भने उँचो स्तरमा छ। उनले जारी विश्वकपमा सर्वाधिक १० विकेट लिइसकेका छन्।

पाकिस्तानले चार खेलमध्ये एक खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको थियो। श्रीलंकासँगको खेल भने वर्षाका कारण हुन सकेन। तीन खेलमै आमिरले १० विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीमा अग्रता बनाइरहेका छन्। पाकिस्तानले एक मात्र जित बलियो टोली इङ्ल्यान्डविरुद्ध निकाल्दा आमिरले दुई विकेट लिएका थिए।

अस्ट्रेलियाविरुद्धको चौथो खेलमा भने आमिरले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिए पनि पाकिस्तानले जित निकाल्न सकेन। १० ओभर बलिङ गरेका आमिरले किफायती बलिङ गर्दा दुई मेडन राख्दै ३० रन मात्र खर्चिएका थिए। पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध पनि पाकिस्तानले खराब खेल्दा आमिरको प्रदर्शन भने लोभलाग्दो थियो।

६ ओभर मात्र बलिङ गरेका आमिरले २६ रन खर्चिंदै ३ विकेट लिएका थिए। इङ्ल्यान्डले तीन विकेट मात्र गुमाउँदा आमिरको प्रदर्शन पाकिस्तानी बलिङका लागि राहत बन्यो। विश्वकपका तीन खेलमा २६ ओभरमा आमिरले ४.७३ को रनरेटमा किफायती  बलिङ गर्दै आइरहेका छन्।

आमिरले ५४ एकदिवसीय खेलमा ७० विकेट लिइसकेका छन्। भारतविरुद्ध पनि आमिरको बलिङ यादगार बन्न सक्नेछ। त्यसैले भारतीय ब्याट्सम्यान आमिरको तीव्र गतिको बलिङमा सजग भएर खेल्नेछन्। यता भारतको ओपनिङ ब्याट्सम्यानमा पनि नयाँ जोडी आउने भएकाले आमिरलाई केही सहज बन्नेछ।

प्रकाशित: १ असार २०७६ ०६:५३ आइतबार

एकदिवसीय_विश्वकप भारत पाकिस्तान मोहम्मद_आमिर