खेल

रासिदको लय पर्खाइमा अफगानिस्तान

लण्डन– अफगानिस्तानको सफलतासँग पर्यायवाची बनेका रासिद खान पछिल्ला विश्व क्रिकेटमा सर्वाधिक सफल युवा खेलाडी हुन्। यसपटकको विश्वकपमा अफगानिस्तानले खराब प्रदर्शन गर्दा तीन खेलमा हार बेहोरिसकेका छ। हरेक पटक अफगानिस्तानको जितको आधार कोरिँदा रासिद पनि महत्त्वपूर्ण सदस्यको रूपमा रहँदै आएका छन्।

तर यसपटकको विश्वकपमा भने उनको अलराउन्डर प्रर्दशन त परै जाओस बलिङमा पनि खासै उत्कृष्ट गर्न सकेका छैनन्। अस्ट्रेलियाविरुद्धको खेललमा एक विकेट लिएका रासिदले ब्याटिङमा २७ रनको योगदान दिएका थिए। श्रीलंकासँग भने उनले दुई विकेट लिएका थिए। तर, उक्त खेलमा उनी २ रनमै आउट भए।

न्युजिल्यान्डसँगको खेलमा भने चार बलैमा उनी खाता नखोल्दै आउट भएका थिए। सो क्रममा न्युजिल्यान्डका बलर लकी फर्गुसनको बल टाउका लागेर घाइते भएका रासिदले बलिङ गर्न भने पाएनन्। तर, दक्षिण अफ्रिकाविरुद्धको खेलमा भने उनी लयमा फर्किन सक्छन्। स्पिनमा जादु पस्किने रासिदबाट अफगानिस्तानले यस पटकको विश्वकपमा सहभागिता सफल बनाउने उद्देश्यमा रहेको छ।

टोलीले आशा गर्नु पनि स्वाभाविक नै छ। खान त्यस्ता खेलाडी हुन्, जसले ब्याटिङ सँगै बलिङमा पनि जादु देखाउन सक्छन्। ट्वान्टी–२० फरम्याटको क्रिकेटमा भने ओपनिङ ब्याटिङ समेत गर्दै रासिदको बलिङ उत्तिकै किफायती पनि छ। एकदिवसीय क्रिकेटमा २० वर्षे युवा क्रिकेटर खान विश्व नम्बर–२ अलराउन्डर रुपमा पनि चिनिन्छन्। रासिद  अगाडि बंगलादेशका सकिब अल हसन र पछाडि अफगानिस्तानका लागि मोहम्मद नाबी छन्।

त्यसैले पनि अफगानिस्ताले विश्वकप क्रिकेटमा तहल्का मच्चाउनका लागि रासिद मुख्य हतियार हुन्। यद्यपि अहिले सम्म सम्पन्न तीन खेल मध्ये कुनै पनि खेल अफगानिस्तानले आफ्नो पक्षमा पार्न सकेको छैन्। अफगानिस्तानले पनि रासिदबाटै उचो प्रदर्शनको आशा राखिरहेको छ। स्पिन बलिङमा सहजै बिग सट लगाउने चक्करमा ब्याट्सम्यानहरू खानलाई विकेट दिइरहेका हुन्छन्।

१७ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा स्थान बनाएका रासिदले सन् २०१७ को कुल १६ एकदिवसीय क्रिकेटमा ४३ विकेट लिएका थिए। सन् २०१८ मा पनि २० खेल खेलेका खानले ४८ विकेट लिन सफल भए। बलिङ धरै टर्न नभए पनि हरेक ब्याट्सम्यानको मस्तिष्कलाई पढ्न सक्ने क्षमता खानमा छ।

प्रकाशित: ३२ जेष्ठ २०७६ ०६:४७ शनिबार

अफगानिस्तान रासिद_खान एकदिवसीय_विश्वकप