खेल

धवनको स्थानमा पन्त

लन्डन– भारतले चोटका कारण ओपनर शिखर धवनलाई गुमाएएपछि विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई टोलीमा बोलाएको छ।

विश्वकपको प्रारम्भिक टोलीमा स्थान बनाए पनि पन्तले १५ सदस्यीय टोलीमा भने स्थान बनाउन सकेका थिएनन्। तर भारतीय क्रिकेट बोर्डले उनलाई तयारी अवस्थामा राखेको थियो।

ओपनिङ ब्याट्सम्यान धवनले औंलाको चोटका कारण ३ हप्ता बाहिर बस्नुपर्ने भएको छ।

टोलीलाई लगातार दोस्रो जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका  धवनको चोटका कारण भारतीय टोलीलाई तेस्रो खेलअघि ठूलो झट्का लागेको थियो। औंलामा चोट लागेका धवन मंगलबारबाट विश्वकप टिमबाट ३ हप्ताका लागि बाहिरिने भएका हुन्।

अस्ट्रेलियाविरुद्ध जित हात पार्दा १ सय ९ बलमा १ सय १७ रन बनाएका देब्रेहाते ब्याट्सम्यान धवनको बूढी औंला फ्याक्चर हुँदा भारतले जारी विश्वकपको तेस्रो खेलमा न्युजिल्यान्डविरुद्ध महत्त्वपूर्ण खेलाडी गुमाउने भएको छ। धवनले अस्ट्रेलियाविरुद्ध भारतका लागि १७औं शतक पूरा गरेका हुन्।

धवनको स्थानमा लोकेश राहुललाई ओपनरको रूपमा ल्याइने सम्भावना भए पनि बिसिसिआईले अर्का देब्रेहाते ब्याट्सम्यानलाई टोलीमा समावेश गरेको हो। भारतले बुधबार न्युजिल्यान्ड र १६ जुनमा पाकिस्तानसँग प्रतियोगिताको महत्त्वपूर्ण खेल खेल्दै छ।

अस्ट्रेलियविरुद्धको खेलमा धवनले चोटका बावजुद पनि विस्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ्स खेलेका थिए। तर दोस्रो इनिङ्समा सोही चोटका कारण मैदानबाहिर बसेका थिए। उनको स्थानमा रवीन्द्र जडेजाले पूरै ५० ओभर फिल्डिङ गरेका थिए। बूढीऔंलामा चोट लागेका धवनको मंगलबारको परीक्षणपछि निको हुन तीन साता लाग्ने भएको हो।

पहिलो खेलमा अर्को एसियाली टोली बंगलादेशमाथि ९५ रनको जित निकालेको भारतले दोस्रो खेलमा साबिकको विजेता अस्ट्रेलियामाथि ३६ रनको जित निकालेको थियो।

प्रकाशित: ३० जेष्ठ २०७६ ०७:२६ बिहीबार

शिखर_धवन भारत ऋषभ_पन्त एकदिवसीय_विश्वकप