खेल

मालिंगा श्रीलंका फर्किए

ब्रिस्टोल– श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगा सासूको निधन भएपछि इङ्ल्यान्डमा जारी विश्वकप बीचमै छोडी स्वदेश फर्किएका छन्।
यद्यपि श्रीलंकन क्रिकेट बोर्डले मालिंगा सासूको अन्त्येष्टिपछि अर्को खेलका लागि टोलीमा फर्कने बताएको छ।

मंगलबार बंगलादेशविरुद्धको खेल वर्षाले निर्धारित समयमा सुरु हुन नपाउँदै यो खबर बाहिरिएको थियो। जसका कारण उनी मंगलबारै श्रीलंका फर्किएका हुन्।

‘लासिथ मालिंगाले पारिवारिक कारणले इङ्ल्यान्डमा जारी विश्वकप केही समयका लागि छोड्ने भएका छन्। यद्यपि उनी टोलीको अर्को खेल (अस्ट्रेलियाविरुद्ध,जुन १५) का लागि भने फर्कनेमा हामी विश्वस्त छौ,’ श्रीलंकन क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दिमुथ करुणारत्नेको टोलीले विश्वकपमा हालसम्म ४ अंक मात्र जोडेका छ। न्युजिल्यान्डविरुद्धको पहिलो खेल १० विकेटले गुमाएको श्रीलंकाले दोस्रो खेलमा अफगानिस्तानलाई हराएको थियो। तेस्रो खेलमा भने श्रीलंकाले वर्षा बाधक बनेपछि पाकिस्तानविरुद्ध अंक बाँडेको थियो। मंगलबार बंगलादेशविरुद्धको खेलमा पनि वर्षा बाधक बनेको थियो।

प्रकाशित: २९ जेष्ठ २०७६ ०६:०२ बुधबार

लासिथ_मालिंगा श्रीलंका