खेल

अस्ट्रेलियालाई स्मिथको आशा

लन्डन– अस्ट्रेलियाका पूर्वकप्तान स्टेभन स्मिथ बुधबार पाकिस्तानसँग हुने विश्वकपमा भरपर्दा ब्याट्सम्यान हुन्। १२ महिनाको अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद स्मिथले ब्याटिङ राम्रो प्रदर्शन गरिरहेका छन्। उनको पुनरागमनपछि नै उत्साहित बनेको अस्ट्रेलियाले हरेक खेलमा स्मिथबाट ठूलो इनिङ आशा पनि राखिरहेको छ।

टोलीको आशाअनुरूप नै स्मिथले विश्वकपमा खेलेका तीन खेलमध्ये दुईमा राम्रो प्रदर्शन गरेका थिए। अफगानिस्तानसँगको पहिलो खेलमा स्मिथ १८ रनमा आउट भएका थिए। त्यससँगै विश्वकपमा उनको सुरुआत राम्रो बन्न सकेन। तर, वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा भने स्मिथले अर्धशतक प्रहार गरे।

स्मिथकै ७३ रनको मद्दतमा अस्ट्रेलियाले २ सय ८८ रन जोडेको थियो। उक्त खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध १५ रनको साँघुरो जित निकालेको थियो। भारतविरुद्धको तेस्रो खेलमा पनि स्मिथले ६९ रनको इनिङ खेलेका थिए। उक्त खेलमा ६ चौका र १ छक्का प्रहार गरेका स्मिथले बलरलाई दबाबमा राखे पनि भारतका भुवनेश्वर कुमारको बलमा आउट भएका थिए।

यद्यपि, त्यो खेलमा अस्ट्रेलियाले ३६ रनले नतिजा भारतलाई सुम्पिएको थियो। चौथो खेलअन्तर्गत अस्ट्रेलिया बुधबार इङ्ल्यान्डको टाउनटनमा पाकिस्तानविरुद्ध उत्रदै छ। अस्ट्रेलियाले पाकिस्तानविरुद्ध जित निकाल्न स्मिथको प्रदर्शनमा पनि निर्भर रहन्छ। स्मिथ एकदिवीय क्रिकेटमा निकै भरपर्दा ब्याट्सम्यानका रूपमा चिनिने गर्छन्।

उनले सन् २०१५ को विश्वकपमा पनि लगातार पाँचौं खेलमा अर्धशतकभन्दा माथिको योगदान दिएका थिए। सोही प्रेरित अस्ट्रेलियाले पाँचौं पटक उपाधि जितेको थियो। सन् २०१५–०१७ सम्म छोटो फरम्याटको क्रिकेटमा पनि उनले आफूलाई प्रमाणित गरेका थिए।  उनी बलरको सहजै गल्ती पत्ता लगाउँदै रन बटुल्ने क्षमता राख्दछन्।

त्यसैले पाकिस्तानी बलर उनीमाथि निकै सजक हुनेछन्। पाकिस्तानी बलर पनि उनलाई छिट्टै आउट गदै अस्ट्रेलियालाई विशाल स्कोर बनाउनबाट रोक्ने प्रयास गर्नेछन्।

 

 

 

प्रकाशित: २९ जेष्ठ २०७६ ०५:५६ बुधबार

स्टेभन_स्मिथ पुनरागमन