खेल

घाइते भएपछि टिमबाट बाहिरिए शिखर धवन, अब को आउँला ओपनिङ्गमा?

नयाँदिल्ली– इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध शतकीय पारी खेलेका भारतीय क्रिकेटर शिखर धवन टिमबाट बाहिरिएका छन्। शनिबार अष्ट्रेलियाविरुद्धको खेलमा ११७ रन बनाएका धवन हातको औला फ्याक्चर भएर घाइते भएपछि तीन हप्ताका लागि टिमबाट बाहिरिएका हुन्। अब उनले न्युजिल्याण्ड (१३ जुन) र पाकिस्तान (१६ जुन) विरुद्धको खेल खेल्न पाउने छैनन्। 

अष्ट्रेलियाली तीव्र बलर नाथन कुल्टर नाइलको बलले शिखरको हातमा चोट लागेको थियो। चोट लागे पनि उनले अष्ट्रेलियाविरुद्ध आउट नहुँदासम्म खेलेका थिए। यद्यपि बलिङ भने गरेका थिएनन्। 

अब उनको ठाउँमा ओपनिङ्गमा केएल राहुलले जिम्मेवारी पाउन सक्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसअघि धवन रोहित सिंहसँग ओपनिङ्गमा मैदानमा उत्रिँदै आएका थिए।

औला फ्याक्चर भएका धवनको पुनरागमनलाई लिएर पनि चिन्ता व्यक्त गरिएको छ। यस्तोमा भारतीय क्रिकेट नियन्त्रण बोर्डले धवनको सट्टा अर्काे खेलाडी सिफारिस गर्न सक्छ। यस्तोमा श्रेयश ऐय्यर र ऋषभ पन्तजस्ता खेलाडीले मौका पाउन सक्ने आंकलन गरिएको छ। 

भारतीय टिममा विराट कोहली (कप्तान), रोहित शर्मा (उप कप्तान), शिखर धवन, केएल राहुल, विजय शंकर, एमएस धोनी (विकेटकीपर), केदार जाधव, दिनेश कात्तिक, युजवेंद्र चहल, कुलदीप यादव, भुवनेश्वर कुमार, जसप्रीत बुमराह, हार्दिक पंड्या, मोहम्मद शमी र रवीन्द्र जडेजा रहेका छन्। 

प्रकाशित: २८ जेष्ठ २०७६ ११:०८ मंगलबार

एकदिवसीय_विश्वकप भारत शिखर_धवन घाइते