ब्रासिलिया– ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेयमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन्।
कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेयमारको घुँडामा चोट लागेको थियो। ब्राजिली फुटबल महासंघले जारी गरेको वक्तव्यमा नेयमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ।
एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेयमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ। नेयमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन्। बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए।
उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन्। नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ। कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो। सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन। रासस
प्रकाशित: २३ जेष्ठ २०७६ १०:४४ बिहीबार