खेल

स्तरअनुसार खेल्न सकेनौं: डु प्लेसिस

लन्डन – दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले टोलीले स्तरअनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका छन्। इङ्ल्यान्डमा जारी एकदिवसीय  विश्वकप क्रिकेट २०१९ को पछिल्लो ४ दिनमा खेलिएका २ खेलमा दक्षिण अफ्रिकाले जितको स्वाद चाख्न सकेको छैन।

उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग १ सय ४ रनको फराकिलो हार बेहोरेको दक्षिण अफ्रिकाले आइतबार दोस्रो खेलमा बंगलादेशलाई २१ रनको नतिजा सुम्पिएको थियो। बंगलादेशले प्रस्तुत गरेको ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३ सय ९ रन मात्र जोड्न सक्यो। लगातारको २ हारसँगै प्रतियोगिताकै दाबेदार टोलीको रूपमा हेरिएको दक्षिण अफ्रिकाको अघिल्लो चरण प्रवेश सम्भावना संकटमा परिसकेको छ।दक्षिण अफ्रिका विश्वकप क्रिकेट इतिहासमा लगातार दोस्रो खेलमा ३ सयभन्दा माथिको लक्ष्य पछ्याउने टोलीसमेत बनेको छ।

डु प्लेसिसले टस जितेर बंगलादेशलाई ब्याटिङको निम्तो दिने निर्णय ठूलो भूल भएको समेत बताएका छन्। दक्षिण अफ्रिकाले अब सात खेल खेल्न बाँकी छ र टोलीले शीर्ष ४ मा बस्दै सेमिफाइनलमा स्थान पक्का गर्न अब शतप्रतिशत नतिजाको विकल्प छैन।

दक्षिण अफ्रिकी टोलीले बुधबार तेस्रो खेलमा भारतको सामना गर्दै छ। डु प्लेसिसले भारतविरुद्ध टोली जितको दबाबमा हुने भए पनि त्यो कठिनाइ पार गर्न टोली सक्षम रहेको बताएका हुन्। ‘मेरो टोलीले सधै उत्कृष्ट प्रदर्शन गर्छ भन्ने सबैको अनुमान छ तर टोलीले स्वाभाविक लयअनुसारको प्रदर्शन गर्न नसक्दा हामी आलोचित भएका छौं,’ उनले भने, ‘हामीले हारबाट पाठ सिक्दै अघिल्लो चरण प्रवेशका लागि थप मिहिनेत गर्न आवश्यक छ। हामी आगामी खेलमा उच्च मनोबलका साथ मैदान प्रवेश गर्नेछाै।अब टोलीले गर्र्ने गल्ती क्षमायोग्य हुनेछैन।’

‘म अहिले दुखका साथ भन्छु हामी अहिले सबै संरचनाका खेलमा आफ्नो लय भेट्टाउनका लागि संघर्ष गरिरहेका छांै,’ डु प्लेसिसले भने, ‘यसमा भाग्यलाई मात्र दोष दिनु मात्र एउटा विकल्प होइन। त्यसका लागि प्रदर्शन पनि त्यहीअनुरूपको गर्न आवश्यक छ।’

डु प्लेसिसले भारतविरुद्धको खेलमा ओपनर तथा भरपर्दा ब्याट्सम्यान फिट हुने विश्वास व्यक्त गरे। अमला इङ्ल्यान्डविरुद्धको खेलमा घाइते भएका थिए। यता तीव्र गतिका बलर डेल स्टेन मैदान फर्कनेमा भने अझै दुविधा छ। स्टेन काँधको चोटका कारण लगातार २ खेलमा अनुपस्थित रहेका छन्। ‘मेरो टोलीले सधैं उत्कृष्ट प्रदर्शन गर्छ भन्ने सबैको अनुमान छ तर टोलीले स्वाभाविक लयअनुसारको प्रदर्शन गर्न नसक्दा हामी आलोचित भएका छौं।’

प्रकाशित: २१ जेष्ठ २०७६ ०३:३८ मंगलबार

फाप_डु_प्लेसिस विश्वकप_क्रिकेट दक्षिण_अफ्रिका