खेल

पटवाललाई औपचारिक जिम्मेवारी

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसिसीले प्रशिक्षणका लागि नेपाल पठाएका उमेश पटवालले नेपाली राष्ट्रिय टोलीको क्रिकेट प्रशिक्षणका लागि औैपचारिक रूपमा जिम्मेवारी पाएका छन्।

शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र प्रशिक्षक पटवालबीच सम्झौतापत्र आदानप्रदान भएको छ। परिषद्का सदस्यसचिव विष्टले सम्झौतामा राष्ट्रिय खेलकुद परिषद्ले एक वर्षका लागि प्रशिक्षकमा नियुक्त भएका पटवाललाई आइसिसीले उपलब्ध गराएको रकम करसहित मासिक ७ हजार डलर पारिश्रमिक उपलब्ध गराउने बताए।

पटवालले जुन १० देखि नेपाली टोलीको प्रशिक्षण सुरु गर्नेछन्। सम्झौताका अवसरमा प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का, शैलेश कर्माचार्यलगायतको उपस्थिति थियो।
 

प्रकाशित: १९ जेष्ठ २०७६ ०५:०४ आइतबार

नेपाली_राष्ट्रिय_क्रिकेट उमेश_पटवाल प्रशिक्षक