खेल

राष्ट्रिय टोली तयारीको निर्देशकमा गुरुङ

काठमाडौं – नेपाली तेक्वान्दोका पूर्वमुख्य प्रशिक्षक  ध्रुवबहादुर गुरुङले राष्ट्रिय टोली तयारीको निर्देशकको जिम्मेवारी पाएका छन्। राष्ट्रिय टोली तयारीका उप–निर्देशकसमेत रहेका गुरुङलाई पदोन्नती गर्दै शुक्रबारदेखि लागू हुने गरी राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले निर्देशकको जिम्मेवारी दिएको हो। यसअघि उक्त पदको जिम्मेवारी तेक्वान्दोकै वरिष्ठ प्रशिक्षक अर्जुन विक सम्हाल्दै आएका थिए। विकले अब तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी सम्हाल्ने भएका छन्।

जिम्मेवारीपछि निर्देशक गुरुङले १३औं सागको तयारीमा रहेका खेलाडीको प्रशिक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउने योजनाअनुरूप छिट्टै नयाँ रणनीति बनाउने बताएका छन्। यसअघि राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले पनि बुधबार नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडीको तयारीलाई मध्यनजर गर्दै  विशेष प्रशिक्षण सञ्चालनको सुरुआत गरिसकेको छ।

विशेष प्रशिक्षणको राखेपका सदस्यसचिव केशवकुमार विष्टले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। प्रशिक्षण भने बिहीबारदेखि सुरु  भएको छ। प्रशिक्षणमा जुडो, स्क्वास, टेबलटेनिस, भारोत्तोलन, प्याराग्लाइडिङ, आर्चरी र सुटिङका जम्मा ८४ खेलाडी सहभागी छन्। सागमा समावेश विभिन्न २७ खेलमध्ये पहिलो चरणमा ७ खेलका ८४ खेलाडीलाई विशेष प्रशिक्षणमा राखिएको हो।

अन्य सम्बन्धित संघबाट नामावली उपलब्ध नभएकाले तत्काललाई ७ खेलको मात्र विशेष प्रशिक्षण सुरु गर्न लागिएको राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले जानकारी गराएका थिए । जेठ २० गतेसम्ममा २७ खेलकै खेलाडीलाई विशेष प्रशिक्षणमा राखिने सदस्यसचिव विष्टले जानकारी दिएका थिए । प्रदेश–५ मा गत वैशाखमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा खेलाडीलाई प्रशिक्षणमा राखिएको हो।
चौरासी खेलाडीमध्ये प्याराग्लाइडिङका १६ र आर्चरीका ४ खेलाडीले पोखरामा रहेर विशेष प्रशिक्षणमा सहभागी हुनेछन्। बाँकी खेलाडीको प्रशिक्षण काठमाडौं हुनेछ। साग डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडौं र पोखरामा हुँदै छ।

 

प्रकाशित: १७ जेष्ठ २०७६ ०२:५४ शुक्रबार

नेपाली_तेक्वान्दो निर्देशक राष्ट्रिय_टोली