पोखरा - चार दिनपछि अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण सूरु हुँदै छ। दोस्रो संस्करणको साहसिक म्याराथनमा सहभागी धावकहरु अन्नपूर्ण आधार शिविर ४ हजार १ सय ३० मिटरको उचाईतर्पm लम्किएका छन्। पहिलो दिन धावकहरू छोमरोङ बस्नेछन्। जेठ १८ गते उनीहरू अन्नपूर्ण आधार शिविर पुग्ने कार्यक्रम रहेको छ। १९ गते धावकहरूको स्वास्थ्य परीक्षण आधार शिविरमै गरिनेछ।
२० गते अन्नपूर्ण आरोहण दिवसको अवसरमा आधार शिविरबाट शुरु भएको दौड पर्यटकीय गाउँ घान्द्रुक आएर धावकले टुग्याउँनेछन्। दोस्रो संस्करणको प्रतियोगितामा विभिन्न जिल्लाका ७० धावकले प्रतिस्पर्धा गर्ने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०७६ मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङले जानकारी दिए। उनले नै दौडमा सहभागी धावकलाई पोखराबाट बिदाइ गरेका छन्।
अन्नपूर्ण आधार शिविरबाट सुरु हुने म्याराथन माछापुच्छे« आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइले, टाँडापानी, भैंसीखर्क हुँदै घान्द्रुकमा आएर समापन हुने म्याराथन प्राविधिक निर्देशक खड्कबहादुर रानाभाटले बताए। सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी आठ हजार मिटर अग्लो हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइने गरिन्छ।
त्यही दिवसकै अवसरमा गत वर्षदेखि अन्नपूर्ण म्याराथनको शुभारम्भ गरिएको थियो। म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वाथ्यकर्मी निर्णायकसहित आवश्यक उपकरण एवं अन्य सामग्रीको व्यवस्थापन पूरा भएको सहायक प्राविधिक निर्देशक कृष्णबहादुर बस्नेतले जानकारी दिए। म्याराथनमा प्रथम हुने धावकले एक लाख ५ हजÞार, दोस्रो हुने धावकले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट दशभित्र रहने धावकलाई पनि सान्त्वना पुरस्कार प्रदान गरिने आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ। म्याराथन सुरु हुनुभन्दा तीन दिन अघि अर्थात जेठ १७ गतेदेखि घान्द्रकमा पर्यटन महोत्सव सुरु हुनेछ। महोत्सवको आवश्यक तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले आठ हजार मिटर अग्लो हिमाल आरोहणको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइने गरिन्छ। गत वर्षदेखि सोही दिनमा अन्नपूर्ण म्याराथनको आयोजना सुरु गरिएको थियो।
प्रकाशित: १७ जेष्ठ २०७६ ०२:४० शुक्रबार