खेल

फेवा किनारमा बिच भलिबल हुने

पोखरामा हुने बिच भलिबल प्रतियोगिताबारे जानकारी दिँदै आयोजक। तस्बिर : उमेश पुन/नागरिक

पोखरा - असारको पहिलो साता पोखरामा बिच भलिबल प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला भलिबल संघको आयोजना तथा नेपाल भलिबल संघको तत्वावधानमा आगामी असार ५ देखि ७ गतेसम्म छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता हुने सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

पर्यटकीय नगरी पोखराको फेवाताल किनार बाराही घाट मैदानमा हुने प्रतियोगितामा कुल ४० टोली सहभागी हुने नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार

प्रतियोगितामा महिला र पुरुषका समान २०/२० टोली रहनेछन्। प्रत्येक प्रदेशबाट २/२ टोली र विभागीय टोलीहरू नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको एपिएफबाट २/२ टोली सहभागी हुने उनले बताए।

प्रतियोगितामा नेपालको राष्ट्रिय टोलीका खेलाडीहरूले सहभागी हुन नपाउने भएका छन्।  बिच भलिबलको सर्वोच्च निकाय फेडेरेसन इन्टरनेसनल दी भलिबलको नियमअनुसार नै खेलाइने भएकाले भलिबलको राष्ट्रिय टोलीका खेलाडीलाई बिच भलिबलमा सहभागी नगराइने भएकाले भलिबलको राष्ट्रिय टोलीका खेलाडीले पोखरामा हुने बिच भलिबलमा सहभागिता नजनाउने उपाध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगिताको पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता महिला तथा पुरुष दुवै टोलीलाई समान ३० हजार, उपविजेतालाई २० हजार र तृतीय हुनेलाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न करिब २२ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि नेपाल भलिबल संघले १ लाख ५० हजार रुपियाँ दिएको र बाँकी रकम आयोजक आफैले संकलन गर्नुपर्ने नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद राजीव पहारीले पोखराको रत्न मन्दिरको स्वामित्वमा रहेको बाराही घाट खेलमैदान नेपाल ट्रस्टमा नभई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मातहत राख्नुपर्ने बताए। ‘खेल खेलाउनका लागि बाराही घाट खेल मैदान चाहियो भने नेपाल ट्रस्टलाई माग्ने होइन’, उनले भने,‘खेलकुदका लागि मैदान चाहिँदा राखेपसँगको पो मैदान माग्नुपर्छ, त्यसैले सो जग्गा राखेपअन्तर्गत राख्नुपर्छ।’ उनले यसका लागि गण्डकी प्रदेश सरकारले भूमिका खेल्नुपर्ने बताए। राखेप सदस्य राजेश गुरुङले प्रतियोगिताका लागि राखेप र आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: १४ जेष्ठ २०७६ ०६:२३ मंगलबार

पोखरा भलिबल_प्रतियोगि फेवा