खेल

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै एपीएफको दोस्रो जित

काठमाडाैं- राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ। एपिएफको लगातार यो दोस्रो जित हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले जितका लागि दिएको १२६ रनको लक्ष्य एपीएफले ३४ दशमलव ४ ओभरमा सात विकेट गुमाएर पूरा ग-यो। कप्तान पृथु बाँस्कोटाले अविजित ३२ रन बनाए। शरद भेषवाकरले २६, सन्दीप जोराले २२ र सुमित महर्जनले १५ रन बनाए। बलिङतर्फ सुदूरपश्चिम प्रदेशका विनोद लामाले तीन तथा शेर मल्लले दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाई १२५ रन बनायो। सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रनको योगदान दिए। विपिन रावलले २१, खडक बोहोराले १९, रोशन अधिकारीले १६ तथा कप्तान शेर मल्लले ११ रन बनाए।

बलिङतर्फ एपिएफका अविनाश बोहोराले दुई, पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले एक/एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच पृथु बाँस्कोटा भए।

समूह ‘ए’ मा रहको एपिएफले दुई खेल जित्दै ४ अङ्क जोडेको छ। पहिलो खेलमा एपिएफले प्रदेश नं ३ लाई ४१ रनले पराजित गरेको थियो। जारी प्रतियोगिताको विजेताले रु २० लाख तथा उप–विजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ।

प्रकाशित: १३ जेष्ठ २०७६ १२:११ सोमबार

क्रिकेट प्रधानमन्त्री_कप एपीएफ विजयी