खेल

मिखिटारयनले फाइनल नखेल्ने

लन्डन– आर्सनलका मिडफिल्डर हेनरिच मिखिटारयन आउँदो बुधबार चेल्सीविरुद्ध हुने युरोपा लिगको फाइनल नखेल्ने भएका छन्।

अजरबैजानस्थित बाकुमा हुने फाइनल खेलमा मिखिटारयन टोलीबाहिर रहने भएका हुन्। अजरबैजान र आर्मेनियाबीचको राजनीतिक द्वन्द्वका कारण टिममा उनलाई नराखिएको आर्सनलले जनाएको छ। मिखिटारयनलाई मैदान उतार्दा मैदानमा हुन सक्ने आपराधिक कार्य रोक्न आर्सनलले उनलाई टिममा नराखेको जनाएको छ।

‘मिखिटारयन टिममा नभएको घोषणा गर्दा हामीलाई दुख लागेको छ। हामीले अहिलेको अवस्थाको बारेमा युइएफएलाई पत्राचार गरिसकेका छौं,’ आर्सनलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

‘वर्तमान अवस्थालाई नियाल्दै हामीले कठिन निर्णय लिन बाध्य भएका छौं। म टोलीसँगै फाइनल खेलका भ्रमणमा निस्कने छैन,’ मिखिटारयनले भने, ‘चेल्सीजस्तै टोलीसँग फाइनल खेल्नु मेरा लागि निकै ठूलो मौका हो। उनीहरूविरुद्ध खेल्न नपाउँदा म निकै दुखी छु।’

यसअघि पनि मिखिटारयनले अजरबैजान र आर्मेनियाबीचको राजनीतिक द्वन्द्वका कारण आर्सनल  क्लबको खेल गुमाउन पुगेका थिए।

उता युइएफएले पनि मिखिटारयनले मुख्य प्रतियोगिताको फाइनलमा खेल्न नपाउनु दुखद भएको प्रतिक्रिया दियो। ‘यस्तो घटना फुटबल खेलाडीको करियरमा कहिलेकाहीं आउने गर्छ,’ युइएफए विज्ञप्तिमा भनिएको छ।

सम्पन्न प्रिमियर लिगमा पाँचौं हुँदै लिगको अन्त्य गरेको आर्सनल चेल्सीलाई हराएको खण्डमा आउँदो सिजनको च्याम्पियन्स लिगमा छनोट हुनेछ। चेल्सीलाई जित्दै उपाधि उचाल्न सफल भएको खण्डमा आर्सनलले १९९४ पछि युरोपियन ट्रफी उचाल्नेछ।

आर्मेनियाका कप्तानसमेत रहेका मिखिटारयन देशका लागि ८२ खेल खेल्दा २७ गोल गरेका छन् जुन उनको नाममा कीर्तिमान रहेको छ।

प्रकाशित: ८ जेष्ठ २०७६ ०५:४० बुधबार

आर्सनल हेनरिच_मिखिटारयन चेल्सी युरोपा_लिग