खेल

यस सिजनमा पनि मेसीको ५० गोल

बार्सिलोना – लियोन मेसीले दुई गोलसहित छैटौंं सिजन ५०औं गोल पूरा गर्दै यस सिजनको स्पेनिस लिगको अन्त्य गरेका छन्।   मेसीले यस सिजन सबै प्रतियोगितामा गरेर आइतबार ४९ र ५०औं गोल गर्दा लिगमा सुखद अन्त्य गरेका हुन्। उनकै गोलप्रेरित बार्सिलोना एइबरसँग २–२ गोलको बराबरीमा रोकिएको थियो। मेसी ला लिगामा भने ३६औं गोल पूरा गर्न सफल भए। उनी छैटौं पटक नै ला लिगाको सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्।

सन् १९५० को दशकमा एथ्लेटिक्स बिल्बाओका स्ट्राइकर टेल्मो जारा ६ पटक ला–लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए। यस सिजन लिगको तीन खेल खेल्न बाँकी छँदा नै ला लिगाको उपाधि आफ्नो बनाएको बार्सिलोनाले आगामी हप्ता हुने कोपा डेल रेको उपाधि पनि जित्ने लक्ष्य राखेको छ। बार्सिलोनाले कोपा डेल रेको उपाधि रक्षा गर्नका लागि भ्यालेन्सियालाई रोक्नुपर्नेछ।

च्याम्पियन्स लिगको उपाधि जित्ने बार्सिलोनाको लक्ष्य यसअघि नै लिभरपुलले समाप्त बनाइदिइसकेको छ। यस सिजन बार्सिलोनाले च्याम्पियन्स लिगमा सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेन। तर, लिगमा भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडविरुद्ध ११ अंकको अग्रतासहित बार्सिलोनाले उपाधि जितेको थियो। अर्को चिर परिचित प्रतिद्वन्द्वी रियाल मड्रिडसँग १९ अंकको अग्रता बनाउँदै बार्सिलोनाले अर्को सफलता प्राप्त गरेको थियो।

‘हामीले यस सिजन सबै खेलमा स्वाभाविक प्रदर्शन गर्न सफल भयौं,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्र्भेडेले भने,‘त्यसैलै हामीले प्रतिद्वन्द्वीविरुद्ध निकै फराकिलो अंकमा अग्रता बनाउँदै उपाधि जित्यौं।’ यता, मेसी युरोपको प्रतिष्ठित लिगमध्ये यस सिजन सबैभन्दा धेरै गोल गर्न सफल भएका छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार केइलियन एम्बापेले फ्रेन्च लिगमा एक खेल बाँकी छँदा ३२ गोल गरेका छन्।

आइतबार दुई गोल गर्दै मेसी लिगमा आफ्नो अग्रता बढाएका हुन्। बार्सिलोनाबाटै लोनमा गएका मार्क कुकुरेलाले २०औं मिनेटमा गोल गर्दै एइबरलाई अग्रता दिलाएका थिए। तर, मेसीले ३१औं मिनेटमा गोल फर्काउँदै बार्सिलोनालाई बराबरीमा फर्काए। मेसीले अर्थर भिडालको पास सदुपयोग गर्दै गोल गरेका थिए।

त्यसको दुई मिनेटपछि नै मेसीले दोस्रो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। एइबरको मजबुत डिफेन्सिभ रणनीति तोड्दै इभान राकेटिचको पासमा मेसीले दोस्रो गोल गरेका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा नै एइबरका डिफेन्डर पाब्लो डे ब्लासिसले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए।

बार्सिलोनाका गोलकिपर जास्पेर सिलेसनको खराब क्लियरेन्सलाई सदुपयोग गर्दै पाब्लोले गोल गरेका थिए। त्यसपछिको बाँकी समयमा थप गोल हुन नसक्दा बार्सिलोनाले बराबरीमा सिजनको अन्त्य ग¥यो। यस सिजन ला लिगाबाट बार्सिलोना, एथ्लेटिको मड्रिड, रियाल मड्रिड र चौथो स्थानको भ्यालेन्सियाले आगामी सिजनको च्याम्पियन्स लिग खेल्नेछन्। गेटाफे, सेभिया र इस्पानियोलले भने युरोपा लिगको यात्रा तय गरेका छन्।

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:५१ मंगलबार

लियोन_मेसी गोल स्पेनिस_लिग