खेल

इङ्ल्यान्डलाई वक्सको प्रेरणा

लिड्स – क्रिस वक्स एक्लैले पाँच विकेट लिएपछि इङ्ल्यान्डले पाकिस्तानमाथि ५४ रनको जित निकाल्दै पाँच खेलको एकदिवसीय शृंखला आइतबार ४–० ले आफ्नो पक्षमा पारेको छ ।

विश्वकपको आयोजक इङ्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै शृंखला आफ्नो पक्षमा पारेको हो । शृंखलाको पहिलो खेल भने वर्षाका कारण प्रभावित भएको थियो । वक्सले ९ बलमा पहिलो तीन विकेट लिँदै एक रन दिएका थिएनन् । घरेलु बलरले उत्कृष्ट प्रदर्शन गरेपछि ३ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानको खातामा ६ रन मात्र हुँदा तीन विकेट पतन भएको थियो । वक्सले तेस्रो बलमै फखर जमानलाई दोस्रो स्लिपमा रहेका जोय रुटद्वारा आउट गराए ।

अबिद अलीलाई पाँच रनमै एलबिडब्लु आउट गर्दै वक्सले दोस्रो सफलता प्राप्त गरेका थिए । मोहम्मद हाफिजलाई पनि खाता नखोल्दै वक्सले पवेलियनको बाटो देखाएपछि पाकिस्तानको इनिङ ६–३ को खराब स्थितिमा पुग्यो । तर बाबर आजमले ८० रन र कप्तान सर्फराज अहमेदले ९७ रन बनाउँदै पाकिस्तानलाई खेलमा फर्काएका थिए । यी दुईको जोडीले चौथो विकेटका लागि १ सय ४६ रनको साझेदारी बनाउँदै पाकिस्तानको सम्भावना कायमै राखेका थिए । तर, दुवै ब्याट्सम्यान रनआउटको सिकार भएपछि इङ्ल्यान्डले खेलमा पकड जमाएको थियो । त्यसपछिका ब्याट्सम्यानले खासै ठूलो साझेदारी गर्न सकेनन् । असिफ अली २२ रन, इमाद वसिम २५ रन र मोहम्मद हासनैन २८ रनमा आउट भएपछि पाकिस्तान ४६.५ ओभरमा २ सय ९७ रनमै समेटिएको थियो । वक्ससँगै अदि रसिदले दुई तथा डेविड विलीले एक विकेट लिएका थिए । जितपछि वक्सले पाकिस्तानको टोली पनि निकै बलियो रहेको प्रतिक्रिया दिए ।

‘बलियो टोली पाकिस्तानविरुद्ध हामीले ४–० ले शृंखला जितेको छौं,’ म्यान अफ दी म्याचसमेत रहेका वक्सले भने, ‘यो सफलतासँगै हाम्रो टोली राम्रो नै रहेको साबित भएको छ ।’ कप्तान इयान मोर्गानले पनि १७ सदस्यीय टोलीबाट १५ जना खेलाडी छनोट गर्न निकै कठिन भइरहेको बताएका छन् । टोलीका लागि शतकबाट तीन रनले चुकेका कप्तान सर्पmराजले नतिजाले आगामी विश्वकपमा हुने प्रदर्शन नदर्साउने बताएका छन् ।
‘हामी सबै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न आतुर छौं,’ सर्पmराजले भने । यद्यपि, सर्पmराजले आफ्नो टोलीमा बलिङ र फिल्डिङको पक्ष सुधार गर्नुपर्ने औंल्याएका छन् । त्यसअघि ब्याटिङ गरेको इङ्ल्यान्डले उत्कृष्ट सुरुआत गर्ने क्रममा २५ ओभरमा दुई विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जोय रुटले सर्वाधिक ८४ र कप्तान मोर्गानले ७६ रनको योगदान दिएका थिए ।
अन्य ब्याट्सम्यान अर्धशतक नै बनाउन असफल भए पनि ससाना योगदानबाट इङ्ल्यान्डले ९ विकेटको क्षतिमा निर्धारित ओभर खेल्दै ३ सय ५१ रनको विशाल योगफल बनाएको थियो । पाकिस्तानको बलिङमा साहिन साह अफ्रिदीले चार विकेट लिँदा इमाद वसिमले तीन तथा हासनैन र हसन अलीले समान एक विकेट लिए पनि इङ्ल्यान्डलाई विशाल स्कोर बनाउनबाट रोक्न सकेनन् ।

वक्सले ९ बलमा पहिलो तीन विकेट लिँदै एक रन दिएका थिएनन् ।

 

प्रकाशित: ७ जेष्ठ २०७६ ०२:४२ मंगलबार

क्रिस_वक्स इङ्ल्यान्ड प्रेरणा