खेल

सडन डेथमा विन्ध्यवासिनीलाई सफलता

धनकुटा - सडनडेथमा भारतको रोयल फुटबल क्लबलाई पराजित गर्दै मोरङको विन्ध्यवासिनी क्लब धनकुटामा सुरु भएको १४औं सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा पुगेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा मोरङे क्लबले पाहुना टोली रोयल फुटबल क्लबको चुनौती सडनडेथमा ६–५ गोलले समाप्त गरेको हो।

निर्धारित समयभित्र दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइबे्रकरमा दुवै टोलीबाट ५–५ गोल भएपछि खेलको निर्णय सडनडेथमा भएको हो। डनडेथमा मोरङका कप्तान अशोक खवासले गोल गरे भने रोयल एफसीका प्रतीक लामाको प्रहार मोरङका गोलकिपर सूर्य अधिकारीले रोकेका थिए। उनी खेलको म्याद अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार हात पारे। टाइब्रेकरमा मोरङको तर्फबाट एलेक्स, डाडी, सुशील राई, विनोद केसी र तीर्थ बस्नेतले गोल गरे। पराजित भारतको रोयल एफसीको तर्फबाट सोनम भुटिया, आशिष देवान, प्रशान्त राई, क्रिसलगायतले गोल गरे।

पहिलो हाफमा रोयल एफसीले मोरङलाई दबाबमा राखेको थियो। खेलको आठौं मिनेटमा रोयलका रोनाल्डले डी बक्स एरियाभित्रबाट प्रहार गरेको सशक्त प्रहार पोस्टमाथिबाट बाहिरियो। त्यस्तै  २०औं मिनेटमा बुद्धबल तामाङ पनि गोल गर्न चुके। पहिलो हाफमा मोरङका तीर्थ बस्नेत, सुशील राई र गिल्सन राई पनि गोल गर्नबाट चुकेका थिए।

दोस्रो हाफमा मोरङले सुधारिएको प्रदर्शन गरेको थियो। दोस्रो हाफको अन्त्यतिर सुशील राईले दिलाएको पासमा गिल्सन राईले डी एरियाभित्रबाट प्रहार गर्दा पोस्टमा ठोक्किएपछि खेल सडन डेथसम्म पुगेको हो। विजयी टोलीका प्रशिक्षक दीपेन्द्र चौधरीले खेलाडीबीच तालमेल नमिल्दा निर्धारित समयमा जित निकाल्न नसकेको बताए। रोयल एफसीका प्रशिक्षक नकुल रोयलले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार्न परको बताए।

भोलिको खेल आयोजक धनकुटा ११ र गत वर्षको उपविजेता बिर्तामोड युनाइटेड क्लब, झापाबीच हुने आयोजक समितिका महासचिव रोशन श्रेष्ठले बताए। प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले गरेका थिए।  १४औं संस्करणको विजेताले नगद ४ लाख र ट्रफी, उपविजेताले २ लाख र ट्रफी पाउनेछन्।

प्रकाशित: २९ वैशाख २०७६ ०१:३२ आइतबार

रोयल_फुटबल_क्लब विन्ध्यवासिनी_क्लब भीमनारायण_गोल्डकप