खेल

चौथो सिन्धु कप जावलाखेललाई

(लामोसाँघु)सिन्धुपाल्चोक– चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले जितेको छ। 

स्थानीय लामोसाँघु मैदानमा शनिबार भएको फाइनलमा मोफसल क्लब गोर्खा युथ स्पोट्र्स भैरहवालाई ०–२ गोलले हराउँदै १० खेलाडीमा समेटिएको जावलाखेलले उपाधि चुमेको हो। उपाधि रक्षार्थ दुबै गोल जावलाखेलका विदेशी खेलाडी डानेल बाजेले गरे। उपाधिसँगै जावलाखेलले नगद पाँच लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता गोर्खा युथले नगद साढे दुई लाख रुपैयाँ पुरस्कार पायो। 

मध्यान्तरअघि एक गोल गरेको जावालाखेलले त्यसपछि अर्को गोल थप्यो। प्रतिस्पर्धात्मक खेलको १९ औँ मिनेटमा डानेलले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। विपक्षी पोष्ट नजिक पुगेको बललाई उनले आधा दर्जन खेलाडीलाई छक्याउँदै चतुरढंगले जाली चुमाए। मध्यान्तरअघिको ४० औँ मिनेटमा गोर्खा युथ १० खेलाडीमा समेटियो। उसका विदेशी खेलाडी आदम रोमबिया सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। गोर्खा युथका खेलाडीलाई फाउल गरेबापत सम्भावित कार्ड पाउनबाट बच्न खेल रेफ्रीलाई समातेर अंकमाल गरेपछि उनले रातो कार्ड दर्शन गरेका थिए। 

जाखलाखेल १० खेलाडीमा समेटिएको फाइदा गोर्खा युथले उठाउन सकेन। मध्यान्तरपछि गोर्खा युथले खेल सुधारे पनि जावलाखेललाई एक खेलाडी कम भएको कुनै असर देखिएन। खेलको ६१ औँ मिनेटमा डानेलले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। उनले काउन्टर एट्याकमा गोल गरेका थिए। 

पहिलो हाफमा एउटै आक्रमण बुन्न नसकेको गोर्खा युथले मध्यान्तरपछि खेलमा फर्कँने दुई सुनौला अवसर पाए पनि सदुपयोग गर्न सकेन। खेलको ७१ मिनेटमा गोर्खा युथका भरत शाह र ७८ मिनेटमा सुशील यादवले पोष्ट नजिकबाट गरेको उत्कृष्ट गोल प्रयासमा म्यान अफ द म्याच घोषित जावलाखेलका किपर अरुण तामाङ बाधक बने। उनले नगद पाँच हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए। 

सातासम्म चलेको प्रतियोगिताको अधिकांश उपाधि जावलाखेलकै पोल्टामा गयो। उसका सुदीप बुढाथोकी सर्वोत्त्कृष्ट खेलाडी चुनिए। उनले नगद २० हजार रुपैयाँ पुरस्का र ट्रफी पाए। विधागततर्फ गोर्खाका दिलीप क्षेत्री (गोलकिपर), जावलाखेलका गौतम श्रेष्ठ (डिफेन्डर), आयोजक युथ स्पोट्र्स क्लबका कृजल श्रेष्ठ (मिडफिल्डर), जावलाखेलकै विदेशी खेलाडी फोफाना फेड (स्टाइकर) र युथकै सन्दीप खड्का (प्रशिक्षक) उत्कृष्ट ठहरिए। उनीहरले जनही नगद १० हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए। 

पूर्वसूचना तथा सञ्चारमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, अखिले नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले विजयी टोली तथा खेलाडीलाई पुरस्कार वितरण गरे। सुनकोसी गाउँपालिका संरक्षक रहेको प्रतियोगिताको प्रायोजन नेपाल आइस बियरले गरेको थियो। युथ स्पोट्र्स क्लब लामोसाँघुले आयोजना गरेको प्रतियोगितामा ए डिभिजन क्लबका चारसहित आठ टोलीले भाग लिएका थिए। प्रतियोगितामा झण्डै ५५ लाख रुपैयाँ खर्च भएको एन्फाका उपाध्यक्ष रहेका आयोजक क्लवका अध्यक्ष बीरबहादुर खड्काले बताए। 

१५ खेलाडी पुरस्कृत

प्रतियोगिताको अवसर पारेर सुनकोसी गाउँपालिकाले खेलकुद क्षेत्रमा योगदान गर्ने विभिन्न १५ खेलाडीलाई नगद राशीसहित पुरस्कृत गरेको थियो। शारीरिक सुसंगठनका खेलाडी महेश्वर महर्जनले सम्मानपत्रसहित एक लाख रुपैयाँ पुरस्कार पाए। पहिलो म्याराथन धावक जितबहादर केसी, म्याराथनकै कान्छीमाया कोजु, तेक्वान्दोका दीपक विष्ट, भलिबलका भरत शाह र कोपिला उप्रेती जनही नगद ५० हजार रुपैयाँसहित पुरस्कृत भए। 

विकेश कुथु, सुदीप श्रेष्ठ (फुटबल), रोहित खड्का, रेजिना कार्की, सर्मिला खड्का, सक्षम कार्की, सविन कार्की (तेक्वान्दो), अशोक महर्जन र भूपेन्द्र थापा (भलिवल)ले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए। उनीहरुलाई गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी लगायतले नगद पुरस्कार र सम्मानपत्र प्रदान गरे।

प्रकाशित: २८ वैशाख २०७६ १४:४४ शनिबार

फुटबल सिन्धु_कप जावलाखेल_युथ_ललितपुर उपाधि