खेल

'निर्धारित समयमै साग हुन्छ'

काठमाडौं – आगामी डिसेम्बर १ देखी १० तारिखसम्म नेपालमा आयोजना हुने १३औं सागको तयारीमा सरकार जुटिरहेको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन्। राजधानीमा भएको एक कार्यक्रममा बोल्दै खेलकुदमन्त्री विश्वकर्माले साग तोकिएकै मितिमा आयोजना हुने दाबी गरेका हुन्।

सरकारको आर्थिक वर्ष २०७६/७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३औं साग प्रतियोगिता आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनको क्रममा भनिसकेको र कार्यक्रम पनि पारित भैसकेको जनाए।             

यस अघि बिहीबार मन्त्री विश्वकर्माको अध्यक्षतामा प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले दुई समिति गठन गरेको थियो। मन्त्री विश्वकर्माले १३औं साग आफूहरूको लागि गौरवको विषय पनि भएकोले भव्यताका साथ सम्पन्न गर्नेतर्फ जुटिसकेको बताए। मन्त्री विश्वकर्माले प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तीव्र गतिमा भैरहेको दाबी गरेका छन्।
सातदोबाटोका पौडी पोखरी, तेक्वान्दो र करातेको हल पनि निर्माण सम्पन्न भैसकेको मन्त्री विश्वकर्माले बताएका छन्। ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने र ७ सय ५३ वटै स्थानीय निकायमा एउटा एउटा खेलग्राम बनाउने पनि उनले दाबी गरेका छन् ।

 

प्रकाशित: २८ वैशाख २०७६ ०१:१६ शनिबार

जगतबहादुर_विश्वकर्मा साग विद्यादेवी_भण्डारी