खेल

आइपीएल: फाइनलका लागि दिल्ली र चेन्नइ भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग आइपीएलमा आज दिल्ली क्यापिटल्स र चेन्नइ सुपर किंग्स प्रतिस्पर्धा गर्दैछन्। दुबै टोली यो खेल जित्दै फाइनल प्रवेश गर्ने योजनामा छन्।

नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट विशाखापटनम्मा खेल हुनेछ। आजको खेल दिल्लीका लागि आइपीएलमा आफ्नो पहिलो फाइनल प्रवेशको लागि प्रवेशद्वार हो भने चेन्नइका लागि लगातार आइपीएल उपाधी हात पार्ने यात्रामा कायम रहने अवसर। दिल्लीले अहिले सम्म आइपीएलमा फाइनलसम्मको यात्रा तय गर्न सकेको छैन।

एकातर्फ दिल्लीमा युवा खेलाडीको बाहुल्यता छ भने चेन्नइमा अनुभवी खेलाडीहरु रहेका छन्। यी टिम बीचको पछिल्ला ५ खेल हेर्ने हो भने दिल्लीले २ जीत हात पार्दा चेन्नइले ३ जीत  हात पारेको छ। ७ पटक आइपीएलको फाइनल पुगिसकेको चेन्नइले यसअघिका खेलमा दिल्लीमाथि सहज जीत निकालेको थियो। लिगचरणको पहिलो खेलमा ६ विकेटले र दोश्रो खेलमा ८० रनले पराजित भएको दिल्लीले नयाँ रणनीति लिएर मैदान उत्रनुपर्ने देखिन्छ।

फाइनलका लागि चेन्नइ सुपर किंग्सलाई हराउँदै मुम्बई इण्डियन्स यसअघि नै प्रवेश गरिसकेको छ।

सन्दीपको सम्भावना
अघिल्लो संस्करणको आइपीएलबाट एक पछि अर्को विश्वभरीका फ्रेन्चाइज लिग खेल्दै आएका सन्दीप लामिछानेले सबै जसो लिगमा आफ्नो छाप छोड्दै आएका छन्। यद्यपि जारी आइपीएलमा भने उनी केही महँगा साबित भएका छन्।

जारी आइपीएलमा ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका छन्। यद्यपि उनी महँगा सावित भएका छन् । त्यस्तै अमित मिस्रा, किमो पाउल, अक्षर पटेललगायतका बलरहरुको पछिल्ला खेलमा राम्रो प्रदर्शन रहँदै आएको छ। अतः प्लेइङ सेटमा पर्न लामिछानेले सङघर्ष गर्नुपर्ने निश्चित छ।  
     
 

प्रकाशित: २७ वैशाख २०७६ १०:३० शुक्रबार

आइपीएल दिल्ली_क्यापिटल्स चेन्नइ_सुपर_किंग्स