खेल

महिला बास्केटबलमा इर्मोटल्स च्याम्पियन

सर्वोत्कृष्ट खेलाडी(बीचमा), फाइनलकी प्येलयर अफ द म्याच(सबैभन्दा बाँया) र उदयीमान खेलाडी(दाँया) ट्रफीका साथ। तस्बिरः रोहित राई/नागरिक

धरान– प्रथम महिला बास्केटबल च्याम्पियनसिप २०७६ मा इर्मोटल्स क्लब धरान–१५ च्याम्पियन भएको छ।

प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा डिपो कलेजलाई ४८–२५ अंकको फराकिलो अन्तरले हराउँदै इर्मोटल्स प्रतियोगिताको च्याम्पियन भएको हो। दुई राष्ट्रिय खेलाडी समावेश भएको इर्मोटल्सले घरेलु कोर्टमा डिपोलाई खेल अवधिभर दबाबमा राखेको थियो। खेलमा इर्मोटल्सले प्रत्येक क्वार्टरमा क्रमशः १२, १४, १७ र ५ स्कोर गरेको थियो भने डिपोले क्रमशः ४, ८, ४ र ९ स्कोर गरेको थियो। इर्मोटल्सबाट राष्ट्रिय खेलाडी अनुषा मल्ल ठकुरीले व्यक्तिगत सर्वाधिक २५ स्कोर गरेकी थिइन् भने डिपोकी डा.आशा राईले व्यक्तिगत १० स्कोर गरिन्।

जितसँगै इर्मोटल्सले नगद १० हजार, च्याम्पियन ट्रफी र उपविजेता डिपोले नगद ५ हजार, उपविजेता ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो। फाइनल खेलको प्लेयर अफ द म्याच डिपोकी डा.आशा राई घोषित भइन् भने धरानकी उदयीमान खेलाडीको रुपमा डिपोकी प्रिती राईले पुरस्कार पाइन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी इर्मोटल्सकी अनुषा मल्ल ठकुरी घोषित भइन्। व्यक्ति विधामा अन्य खेलाडीले ट्रफी र प्रमाणपत्र मात्र पाए पनि अनुषाले नगद २ हजारसहित ट्रफी हात पारिन्।

विजेता तथा उपविजेता टिमका खेलाडीलाई आयोजक धरान बास्केटबल संघका अध्यक्ष एवं संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, प्रमुख अतिथि एवं वडा नं १८ का अध्यक्ष प्रवीण राई, डिपोका प्राचार्य राजकुमार राई, पत्रकार जनकऋषि राई, सगरमाथा कलेजका सहायक प्रिन्सिपल विशाल राई, पूर्वखेलाडी सुजनमान श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा धरानका विभिन्न कलेज र क्लब गरी ८ टिमले सहभागिता जनाएको थियो। महिला बास्केटबल खेलाडी उत्पादन गर्ने र खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०७६ ०५:३८ बिहीबार

महिला_बास्केटबल_च्याम्पियनसिप इर्मोटल्स_क्लब