खेल

त्रिवि मैदानमा एकदिवसीय शृंखला

काठमाडौं – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, जहाँ नेपालले विभिन्न डिभिजनका खेल, विश्व क्रिकेट लिग र एसिसीका विभिन्न प्रतियोगितामा सफलता चुमेको छ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय टोलीको मान्यता पाएको एक वर्षपछि अन्ततः त्यही त्रिवि मैदानमा पहिलो पटक एकदिवसीय खेलको आयोजना हुने भएको छ। आइसिसीले २०२३ मा भारतमा आयोजना हुने विश्वकप छनोटका लागि यसै वर्षको अगस्टबाट सुरु हुने विश्वकप लिग–२ को तालिका सार्वजनिक गरेको छ। विश्वकप लिग–२ मा नेपाललगायत नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी, अमेरिका, ओमान र युएई समावेश छन्।

२०१९ को अगस्टबाट २०२२ जनवरीसम्म आयोजना हुने शृंखला सबै टोलीका लागि विश्वकपको पहिलो खुड्किलो हुनेछ। जहाँ सबै टोलीले ३६ एकदिवसीय शृंखला खेल्नेछन्। विश्वकप लिग–२ मा २१ शृंखलाअन्तर्गत १ सय २६ एकदिवसीय खेल आयोजना हुनेछन्। हरेक शृंखलामा कम्तीमा ६ एकदिवसीय खेल हुनेछन् र हरेक टोलीले एकअर्काविरुद्ध २ एकदिवसीय खेल खेल्नेछन्। विश्वकप लिग–२ को शीर्ष ३ मा पर्ने टोली २०२२ मा आयोजना हुने प्लेअफका लागि छनोट हुनेछन्।

जसअन्तर्गत ९ शृंखला खेल्ने नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत २०२० को फेब्रुअरी ५ देखि १२ सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ओमान र अमेरिका समावेश त्रिकोणात्मक शृंखलाको आयोजना गर्ने भएको छ। विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुन लागेको यो पहिलो एकदिवसीय शृंखलासमेत हो। साथै आइसिसीले नेपाल समावेश हुने अन्य तीन एकदिवसीय शृंखलाको समेत तालिका सार्वजनिक गरेको छ।

नेपालले नामिबिया र पपुवा न्युगिनी सम्मिलित एकदिवसीय शृंखला २०२० अप्रिलदेखि २७ सम्म नामिबियामा खेल्नेछ। त्यस्तै नेपालले युएई र पपुपा न्युगिनी सम्मिलित अर्को शृंखला खेल्नेछ। जुन २०२० जुन देखि १६ जुनसम्म पपुवा न्युगिनीमा आयोजना हुनेछ। अन्य शृंखलाको मिति र स्थान भने तय भइसकेको छैन। विश्वकप लिग–२ को शीर्ष ३ मा पर्ने टोली २०२२ मा आयोजना हुने प्लेअफका लागि छनोट हुनेछन्।

प्रकाशित: २५ वैशाख २०७६ ०३:५९ बुधबार

त्रिभुवन_विश्वविद्यालय क्रिकेट_लिग एसिसी