खेल

सिटीको जितमा कोम्पनी नायक

लन्डन – म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले आफ्नो निर्णायक गोलमा टोली पुनः इङ्लिस प्रिमिमियर लिगको शीर्ष स्थानमा फर्केपछि आफ्ना लागि सोमबारको दिन जीवनकै उत्कृष्ट दिनमध्येको एक भएको बताएका छन्।

घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा सिटी अंक बाँढ्ने संघारमा पुगिसकेको थियो। तर खेल सकिन २० मिनेट बाँकी हुँदा कोम्पनीले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएसँगै सिटीले लेस्टर सिटीलाई पराजित गर्दै प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यनजिक पुगेको हो।

यस जितपछि ३७ खेलमा ९५ अंकका साथ सिटी शीर्ष स्थानमा फर्किएको हो। जुन समान खेल खेल्दै दोस्रो स्थानमा झरेको लिभरपुलको भन्दा १ अंक बढी हो। ७१ अंकका साथ चेल्सी तेस्रो स्थानमा छ भने ७० अंक जोडेको टोटेनह्याम चौथो स्थानमा छ।

सिटीको यस जितसँगै प्रिमियर लिगको विजेता टोलीको टुङ्गो आइतबार हुने लिगको अन्तिम खेलको नतिजाले निर्धारण गर्नेछ। सिटीले अन्तिम लिग खेलमा ब्राइटनको सामना गर्नेछ भने लिभरपुलले उल्भरह्यामटनसँग खेल्नेछ। ‘मैले जारी सिजन कुनै गोल गर्न सकेको थिइनँ, तर म सधैं टोलीलाई आवश्यक पर्दा योगदान दिन तयार थिएँ,’ कोम्पनीले भने, ‘हामीले खेल नियन्त्रणमा लिँदै निरन्तर गोलको अवसर सिर्जना गरिरहे पनि बलले जाली भने चुम्न सकेको थिएन।

त्यसैले सबै निराश थिए। मैले जब डी बक्सबाहिरबाटै प्रहार गर्न खोजें, सबैले त्यसो नगर भनिरहेका थिए। म केही समय रोकिएँ। अभ्यासमा बाहेक मैले आजसम्म यतिको लामो र्दूरीबाट प्रहार गरेको बलले जाली चुमेको थिएन। त्यसैले एक पटक जोखिम मोल्न चाहेको थिएँ। अन्ततः त्यसले सफलता चुम्यो।’

‘म विगत १५ वर्षदेखि शीर्ष डिभिजनको फुटबल खेलिरहेको छु,’ कोम्पनीले भने, ‘एक दिन डी बक्सबाहिरैबाट प्रहार गरेको लामो सट गोलमा परिणत गर्ने र त्यो गोल टोलीका लागि सुखद हुनेमा म विश्वस्त थिएँ। जुन आज पूरा भएको छ।’
सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि आफू कोम्पनीले हानेको लामो सट गोलमा परिणत हुनेमा विश्वस्त नभएको प्रतिक्रिया दिएका छन्।

‘म त्यति विश्वस्त थिइनँ, तर फुटबल खेलमा जे पनि सम्भव हुन सक्छ,’ ग्वार्डिओलाले भने, ‘फुटबल एक कला हो र खेलाडी त्यसका कलाकार। कुन समयमा के गर्ने त्यो सबै खेलाडीले केही सेकेन्डको अन्तरमा लिने निर्णय हो। खेलाडीले गरेका यस्तो प्रहार सबै गोलमा परिणत हुन्छन् भन्ने छैन तर खेलाडीले उक्त सट प्रहार गर्दा देखाएको आत्मविश्वासले विशेष अर्थ राख्छ। जुन आज कोम्पनीको सटमा देखियो।’

यस जितपछि ३७ खेलमा ९५ अंकका साथ सिटी शीर्ष स्थानमा फर्किएको छ। जुन समान खेल खेल्दै दोस्रो स्थानमा झरेको लिभरपुलको भन्दा १ अंक बढी हो।

प्रकाशित: २५ वैशाख २०७६ ०३:५५ बुधबार

म्यानचेस्टर_सिटी भिन्सेन्ट_कोम्पनी इङ्लिस_प्रिमिमियर_लिग