खेल

सालाहको चोट महँगो हुन सक्ने

तस्बिरः एजेन्सी

लन्डन– डिभोक ओरिघीको गोल निर्णायक बन्दा लिभरपुल शनिबार न्युक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै पुनः इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फर्किए पनि स्ट्राइकर मोहम्मद सालाहको टाउकोको चोट भने टोलीको लागि महँगो बन्न सक्छ।

सालाहले चोटका कारण खेल सकिन २० मिनेटअघि मैदान छाडेका थिए। यससँगै सालाह मंगलबार च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा बार्सिलोनाविरुद्ध मैदान उत्रनेमा सालाहको चोटले दुबिधा बढेको छ। यता लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले रोबर्टो फिर्मिनो भने घरेलु मैदान एन्फिल्डमा हुने खेलमा अनुपस्थित हुने पुष्टि गरेका छन्।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको पहिलो लेगमा लिभरपुलले बार्सिलोनालाई ३–० को नतिजा सुम्पिएको थियो। यस जितपछि २९ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा रहेको लिभरपुलले एक खेल कम खेलेको साबिकको विजेता म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ। प्रिमियर लिगमा लिभरपुलले अब मात्र एक खेल खेल्न बाँकी छ भने सिटीको हातमा २ खेल बाँकी छ। सिटीले सोमबार लेस्टर सिटीलाई हराएमा पुन शीर्ष स्थानमा फर्कनेछ।

लिरपुलको ३७ खेलमा ९४ अंक छ भने सिटीको ९२ अंक छ। ७० अंकका साथ टोटेनह्याम तेस्रो, ६८ जोडेको चेल्सी चौथो र ६६ अंकका साथ आर्सनल पाँचौं स्थानमा छ।

‘हामीले जे सक्थ्यौं, त्यो सबै ग-र्याैं,’ जारी सिजन प्रिमियर लिगमा एक मात्र खेल गुमाएको लिभरपुलको प्रशिक्षक क्लोपले भने, ‘हामी लिग च्याम्पियन हुन्छौं वा हुँदैनाैं अबको केही दिनमा थाहा हुन्छ। यो कसैको हातमा छैन, किनभने हामीले क्षमताभन्दा माथि केही गर्न सक्दैनाैं। आजको खेल पनि बराबरीतर्फ उन्मुख थियो, भाग्यवश हामीले तीन अंक जोड्न सफल भयौ।’

क्लोपले गत साता बार्सिलोनाविरुद्ध उतारेको टोलीमा ४ खेलाडी परिवर्तन गरेका थिए।

१३औं मिनेटमा भर्जिल भान डेजिकले गरेको गोलमा लिरपुलले अग्रता लिएको थियो। तर लिभरपुलले अग्रता लामो समयसम्म टिकाउन सकेन। त्यसको ७ मिनेटपछि नै क्रिस्टियन अस्टुले न्युक्यासललाई खेलमा फर्काएका थिए। २८औं मिनेटमा लिभरपुल पुनः एक पटक खेलमा अग्रता बनाउन सफल भयो । सालाहले बललाई जाली चुमाएका थिए। ५४औं मिनेटमा सोलोमन रोन्डनले न्युक्यासललाई खेलमा फर्काएका थिए।

खेल सकिन ४ मिनेट बाँकी हुँदा ओरिघीले गरेको गोल लिभरपुललाई शीर्ष स्थानमा पुनरागमन गराउन पर्याप्त बन्यो।
७०औं मिनेटमा लिभरपुललाई सालाह मैदाबाट बाहिरिएसँगै धक्का पुगेको थियो। सालाह र न्युक्यासलका गोलकिपर मार्टिन डुब्रभ्का एकआपसमा जुधेका थिए। बल पन्च गर्ने क्रममा डुब्रभ्काको प्रहार सालाहको टाउको लागेको थियो।
‘सालाहको वर्तमान स्वास्थ्य अवस्थाका बारेमा अहिले केही बताइहाल्न सकिन्न,’ क्लोपले भने, ‘थप स्वास्थ्य परीक्षणपछि मात्र यसबारे थाहा हुनेछ।’

प्रकाशित: २३ वैशाख २०७६ ०५:०३ सोमबार

सालाह च्याम्पियन्स_लिग बार्सिलोना लिभरपुल