खेल

जुमानु र अनुलाई विशेष अवार्ड

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्यद्वय जुमानु राई र अनु लामा एन्फा डेको अवसरमा आयोजित अवार्ड कार्यक्रममा एन्फाको विशेष अवार्डबाट सम्मानित भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबार भएको अवार्ड कार्यक्रममा राष्ट्रिय टोलीका पूर्वसदस्यद्वय जुमानु र अनु विशेष अवार्डद्वारा सम्मानित भएका हुन्। दुवैले अवार्डसँगै १५/१५ लाख रुपैयाँ प्राप्त गरे। राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेकी अनुले नेपालका लागि खेल्दै ३५ गोल गरेकी छन्। दुई दिनअगाडि मात्र शान्ति मिसनबाट नेपाल फर्किएका जुमानुले पनि राष्ट्रिय टोलीबाट ११ गोल गरेका छन्।

जुमानु नेपाल पुलिस र अनु एपिएफमा आबद्ध छन्। विदेशमा व्यावसायिक  फुटबल खेल्ने खेलाडीमा राष्ट्रिय टोलीका सदस्यद्वय किरणकुमार चेम्जोङ र रोहित चन्द सम्मानित भए। दुवैले अवार्डसँगै जनही १ लाख रुपैयाँ प्राप्त गरे। गोलकिपर चेम्जोङले माल्दिभ्स र रोहितले इन्डोनेसियन लिगा वानबाट खेलेका थिए।

टिसी स्पोट्र्स क्लबलाई घरेलु लिग च्याम्पियन बनाउँदा चेम्जोङ उत्कृष्ट गोलकिपर घोषित भए। रोहितले पनि आफ्नो क्लबलाई लिग च्याम्पियन गराउँदा मस्ट भ्यालुएबल प्लेयरको उपाधिसमेत हात पारेका थिए। एन्फाले आफ्नो दिवसको अवसरमा अन्य विभिन्न विधामा पनि सम्मान गरेको छ। महिला उदीयमान खेलाडीमा मन्जलीकुमारी योन्जनले अवार्ड प्राप्त गरिन्।

पुरुषतर्फ  भने अभिषेक रिजालले उक्त सफलता पाए। मन्जलीकुमारी र अभिषेक दुवै राष्ट्रिय टोलीका सदस्यसमेत हुन्। दुवैले अवार्डसँगै जनही एक लाख रुपैयाँ नगद प्राप्त गरे। नेपाल महिला टोलीले हिरो कप र साफ च्याम्पियनसिपको फाइनलमा यात्रा बनाउँदा मन्जली महत्त्वपूर्ण सदस्य थिइन्। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरे।

उनले अवार्डसँगै नगद एक लाख रुपैयाँ र मोटरसाइकल प्राप्त गरे। उनकै प्रशिक्षणमा नेपालले ओलम्पिक छनोटको दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो। साथै नेपाली महिला टोलीले भारतमा सम्पन्न हिरो कप र नेपालमा सम्पन्न साफ च्याम्पियनसिपमा उपविजेताको उपाधि जित्दा खड्का नै टोलीका प्रशिक्षक थिए।

एन्फाले लाइफटाइम अचिभमेन्ट अवार्डबाट भगीरथ आलेलाई सम्मान ग-यो। भगीरथले नगद ३ लाख ५० हजार रुपैयाँसहित मोटरसाइकल पनि प्राप्त गरे। पुरुष रेफ्रीमा लव खत्री र महिला रेफ्रीमा अस्मिता मानन्धर उत्कृष्ट भए। उत्कृष्ट जिल्ला मोरङ चयन हुँदा क्लबतर्फ भने मनाङ मस्र्याङ्दीले सफलता प्राप्त ग-यो।

प्रकाशित: २३ वैशाख २०७६ ०४:४१ सोमबार

जुमानु_राई अनु_लामा अवार्ड एन्फा_डे