खेल

च्यासललाई चन्द्रागिरि गोल्डकप

काठमाडौं– ललितपुरको च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

चन्द्रागिरिस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा च्यासलले ‘ए’ डिभिजन प्रतिद्वन्द्वी सरस्वती युवा क्लबलाई २–० ले पराजित गर्दै च्याम्पियन बनेको हो। च्यासललाई च्याम्पियन बनाउन वैकल्पिक खेलाडी म्याक्सवेल एलोन र जुनियरले गोल गरे। म्याक्सवेल दोस्रो हाफको सुरुमै अर्मान्डको स्थानमा मैदानमा प्रवेश गरेका थिए।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि च्यासलले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो। ५५औं मिनेटमा म्याक्सवेलले हेडमार्फत सुन्दर गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाए। ७१औं मिनेटमा जुनियरले गोल गर्दै च्यासललाई च्याम्पियन बनाए।

त्यसअघि खेलको दोस्रो मिनेटमा नै अमिर श्रेष्ठको प्रहार पोस्टबाट थोरै बाहिरिँदा च्यासल अग्रता लिनबाट चुकेको थियो। ११औं मिनेटमा च्यासलका जुनियरको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो। १४औं मिनेटमा जुनियरको पासमा अर्मान्डले छोडेको बलमा मिलन राईले फितलो प्रहार गरे।

१५औं मिनेटमा ओको बोताको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा रिवाउन्डमा अमित लामाको प्रहार अकासिएको थियो। १९औं मिनेटमा सुजित बुढाथोकीको प्रहार सरस्वतीका गोलरक्षक दीपेश थापामगरले मुस्किलले बचाए। २८औं मिनेटमा छिरिङ गुरुङको कर्नरमा अर्मान्डको हेडर बाहिरिएको थियो।

६१औं मिनेटमा राज शाहीको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिएको थियो। लगत्तै प्राप्त कर्नरमा रमेश घिसिङले क्रस गरेको बललाई राज शाहीले प्रहार गरे पनि क्रसबारमा लागेर फर्कंदा सरस्वतीले बराबरी गोल गर्ने मौका खेर फाल्यो। ६३औं मिनेटमा सरस्वती १० खेलाडीमा समेटियो। विशाल मगर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि सरस्वती समस्यामा परेको थियो।

त्यसपछि थप गोल हुन सकेन । च्याम्पियन बनेसँगै च्यासलले ६ लाख रुपैयाँ पायो। दोस्रो भएको सरस्वतीले ३ लाख रुपैयाँ पायो। च्यासलका कप्तान प्रतियोगिताको म्यान अफ दी म्याच घोषित भए। उनले ३० हजार रुपैयाँ पाए। च्यासलकै अर्मान्ड र मिलन राई प्रतियोगिताको सर्वाधिक गोलकर्ता चुनिए। उनीहरूले ३० हजार पुरस्कार रुपैयाँ पाए। अर्मान्ड र च्यासलले प्रतियोगिताभर समान २ गोल गरेका थिए।

प्रतियोगिताको विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आयोजक दीपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकी र प्रतियोगिता संयोजक रमेश बुढाथोकी, मुख्य प्रायोजक रोज बहिनी सिर्जनशील समूहका अध्यक्ष माधव भण्डारीलगायतले पुरस्कृत गरे। १५ वैशाखबाट सुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समूहसहित विभिन्न ८ टोलीको सहभागिता थियो।  

प्रकाशित: २३ वैशाख २०७६ ०४:३० सोमबार

च्यासल_युथ_क्लब चन्द्रागिरि_गोल्डकप च्याम्पियन