खेल

क्रिकेटर कवितालाई सम्मान

काठमाडौं – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले पूर्वकोषाध्यक्ष प्रमोद वज्राचार्यको स्मृतिमा प्रदान गरिने राष्ट्रिय सेवा सम्मान नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी सदस्य कविता कुँवरलाई प्रदान गरेको छ।

शनिबार एनसिएसएसले एक कार्यक्रमको आयोजना गरी क्रिकेटर कवितालाई  नगद २५ हजार प्रदान गरेको हो। वज्राचार्यको परिवारको अक्षयकोष र एनसिएसएसको सहकार्यमा गत वर्षदेखि उदीयमान एक खेलाडीलाई राष्ट्रिय सेवा सम्मान पुरस्कार प्रदान गरेको थियो। अघिल्लो वर्ष यो सम्मान हाल आर्मीबाट खेलिरहेका हरिबहादुर चौहानले पाएका थिए।

राष्ट्रिय महिला टोलीका प्रशिक्षक विनोद दास, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी तथा एनसिएसएसका अध्यक्ष विराज घिमिरे सम्मिलित निर्णायक मण्डलले धनगढीकी कवितालाई उक्त अवार्डका लागि योग्य ठहर गरेको थियो।
गत जनवरीमा थाइल्यान्डमा भएको ट्वान्टी–२० स्म्यासमा कविता राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्। थाइल्यान्डमै सम्पन्न महिला ट्वान्टी–२० र एकदिवसीय विश्वकप एसिया छनोट खेलेकी थिइन्।

ट्वान्टी–२० स्म्यासमा कविताले पाँच खेलमा २ विकेट लिएकी थिइन्। १४ ओभर बलिङ गरेकी कविताले ३७ रन मात्रै खर्चेकी थिइन्। कविताको प्रदर्शन सशक्त रहेपछि उनलाई यस अवार्डका लागि सिफारिस गरिएको प्रशिक्षक विनोद दासले बताए। दासले यस सम्मानका लागि वज्राचार्य र एनसिएसएसको परिवारले बनाएको कोषलाई १० हजार रुपैयाँ सहयोगसमेत गरे। सम्मानित भएकी कविता कुँवरले प्राप्त अवार्डले खुसी भएको प्रतिक्रिया दिइन्।

प्रकाशित: २२ वैशाख २०७६ ०२:०५ आइतबार

एनसिएसएस राष्ट्रिय_सेवा_सम्मान कविता_कुँवर